राजनीति

कांग्रेसकै कारण यसअघि सर्वसम्मत राष्ट्रपति चयन हुन सकेनः सांसद भट्टराई

नेकपा एमालेका सांसद योगेकुमार भट्टराईले नेपाली कांग्रेसकै कारण २०७४ सालमा राष्ट्रपति सर्वसम्मत रुपमा हुन नसकेको बताएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले २०७२ सालमा संविधान बनेपछि सर्वसम्मत रुपमा राष्ट्रपति चयन हुनुपर्ने भएपनि कांग्रेसप्रति लक्षित गर्दै काँग्रेसकै कारण सर्वसम्मत रुपमा राष्ट्रपति चयन हुन नसकेको बताए।

कांग्रेस इतिहासमा हेर्ने हो भनेपनि सबैभन्दा लाभ लिने र अरुलाई हस्तान्तरण नगर्ने दलको रुपमा रहेको उनले दाबी गरे। उनले कांग्रेस लगायत प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने सबै दलहरुले मुटुबाट विश्वासको मत दिएको भए सभामुख उम्मेदवार देवराज घिमिरेलाई पनि मत दिएर सभामुखमा निर्वाचित गर्न आग्रह गरे।  

सांसद भट्टराईले सभामुख उम्मेदवार घिमिरे सबै किसिमले सभामुख बन्नका लागि योग्य पात्र रहेको भन्दै उनलाई सभामुखमा निर्वाचित गर्न आग्रह गरे। 

प्रकाशित: ५ माघ २०७९ ०७:३५ बिहीबार

योगेकुमार भट्टराई