राजनीति

एमाले प्रतिपक्षमै बसेर संविधानको रक्षा गर्छः सचिव भट्टराई

बुटवल– नेकपा (एमाले)का केन्दीय सचिव योगेश भट्टराईले एमालेले अब रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्दै संविधानको कार्यान्वयन र रक्षाका लागि जस्तोसुकै चुनौतीको पनि सामना गर्न तयार भएको बताएका छन्।

प्रेस चौतारी रुपन्देहीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले यो संविधानप्रति एमालेको सबैभन्दा बढी अपनत्व रहेको बताउँदै यसलाई च्यात्न असफल बनाउन खोजिएकाले एमाले प्रतिपक्षमै बसेर सबै षड्यन्त्रलाई चिर्दै संविधानको रक्षा गर्नु पहिलो कर्तव्य हुनेछ भने।

उनले भने,  “हाम्रो सहमतिबिना संविधान संशोधन हुन सक्दैन । एमालेलाई नजरअन्दाज गरे संसद् पनि चल्दैन।”

उनले कसैले कोठाभित्र बसेर गरेको सहमति एमालेलाई मान्य नहुने पनि स्पष्ट पारे। उनले दुई मधेस प्रदेशको माग एमालेले स्वीकार्न नसक्ने बताउँदै संविधान संशोधनको च्याप्टर खुलेमा दलहरुको पाँच प्रतिशत थ्रेसहोल्ड र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाउन एमाले तयार रहने बताए।

भूकम्पपछिको पुनःनिर्माण अभियानलाई पूर्णता दिन एमालेले प्रतिपक्षमै भए पनि प्रभावकारी भूमिका खेल्ने उनले बताए।

उनले अब माथिदेखि तलसम्मको ध्यान आउँदो निर्वाचनमा केन्द्रित हुने बताउँदै अबको निर्वाचनपछि आफ्नै खुट्टामा टेकेर बहुमतको सरकार बनाउने गरी एमाले जुट्ने बताए। रासस

 

प्रकाशित: २९ श्रावण २०७३ १४:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App