राजनीति

माओवादीलाई फकाउने र एमालेलाई चिढ्याउने कांग्रेस रणनीति

प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले तेस्रो दल माओवादी केन्द्रलाई फकाउने र दोस्रो दल एमालेलाई चिढ्याउने रणनीति अख्तियार गरेको छ। एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि कांग्रेस संघ र प्रदेशका महत्वपूर्ण राजकीय पदबाट वञ्चित बनेको छ। पुस २६ गते प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर कांग्रेसले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनअघिको सत्ता गठबन्धनलाई निरन्तरता दिने प्रयास सुरु गरेको छ।

कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताको फरक मतका बीच दाहाललाई विश्वासको मत दिएर राष्ट्रपति निर्वाचनमा कांग्रेसले माओवादी समर्थन खोजेको छ। माओवादी केन्द्रबाट राष्ट्रपति निर्वाचनमा साथ पाउने आश्वासन पाएको कांग्रेसले वाग्मतीसहितका केही प्रदेशका मुख्यमन्त्री (माओवादीका) लाई पनि विश्वासको मत दिएको छ। मधेस प्रदेशमा पनि कांग्रेस नेतृत्वको पुरानो गठबन्धनका सबै पार्टीले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका छन्।  

माओवादी केन्द्रलाई आफूनिकट राख्ने प्रयासमा सक्रिय कांग्रेसले प्रतिनिधिसभाको सभामुख पदका लागि बुधबार उम्मेदवारी दिएको छ। नेकपा एकीकृत समाजवादी (नेकपा एस) सहित प्रतिनिधिसभामा विपक्षी बेन्चमा बसेका दलको समर्थनमा कांग्रेसले सांसद ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाएको छ। झापा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले सांसद देवराज घिमिरेले माओवादी केन्द्रसहित सत्ता गठबन्धनमा रहेका दलको समर्थनमा सभामुखमा उम्मेदवारी दिएका छन्। सत्ता गठबन्धन स्पष्ट बहुमतमा रहे पनि कांग्रेसले एमालेविरुद्ध सभामुखमा उम्मेदवारी दिएको हो। सभामुख चयनका लागि बिहीबार निर्वाचन हुने कार्यक्रम छ।

प्रतिनिधिसभाको सभामुखमा अक्सर निर्वाचन भएको देखिँदैन। २०७४ सालको निर्वाचनपछि प्रतिनिधिसभाको सभामुखमा माओवादी केन्द्रबाट कृष्णबहादुर महराले उम्मेदवारी दिएका थिए। त्यसबेला प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको कांग्रेसले महराविरुद्ध उम्मेदवारी नदिएपछि उनी निर्विरोध सभामुख भएका थिए। प्रधानमन्त्री दाहालले मंगलबार राखेको सर्वदलीय बैठकमा कांग्रेसका नेताले राष्ट्रपति, सभामुखसहितका पद संवैधानिक र साझा भएको जनाउँदै यसमा छलफल गर्न पार्टी तयार रहेको धारणा राखेका थिए। सभामुख पदलाई प्राथमिकतामा नराखेको कांग्रेसले एमाले उम्मेदवारलाई निर्विरोध हुन नदिन उम्मेदवारी दिएको एक नेताले बताए। ‘सहमति गरेर जाने कुरामा एमाले अध्यक्ष केपी ओलीले खास रुचि देखाउनुभएन,’ कांग्रेसका ती नेताले भने, ‘प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका र अन्य दललाई समेटेर अघि बढ्नेछौं।’

सर्वदलीय बैठकमा ओलीले राष्ट्रपति, सभामुखसहितका पदमा सत्ता गठबन्धन दलहरूबीच सहमति भइसकेको जनाउँदै अन्य विषयमा सहमति खोज्न सकिने बताएका थिए। तर माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दाहालले सहमतिमा अघि बढ्न आफू तयार रहेको धारणा सर्वदलीय बैठकमा राखेका थिए। माओवादी केन्द्रको समर्थन नहुँदा सभामुख निर्वाचनको परिणाम पार्टीको पक्षमा आउने सम्भावना नरहेको कांग्रेस नेताहरूको बुझाइ छ। राष्ट्रपति निर्वाचनमा माओवादीको समर्थन आफूलाई रहनेमा आशावादी कांग्रेसले नेकपा एस, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग उपसभामुखसहितका पदमा मिलेर उम्मेदवारी दिने समझदारी बनाएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुरसहितका नेतासँग छलफल गरेका छन्। नेकपा एसका नेता राजेन्द्र पाण्डेले प्रधानमन्त्रीमा दाहाललाई विश्वासको मत दिएका तर विपक्षी बेन्चमा बसेका दलहरूको आवाज बलियो बनाएर अघि बढ्ने सहमति भएको बताए। सभामुखमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने र उपसभामुखसहित अन्य पदका निर्वाचनमा पनि मिलेरै अघि बढ्ने सहमति भएको जानकारी पाण्डेले दिए। ‘उपसभामुखका विषयमा सभामुखको निर्वाचनपछि बसेर छलफल गर्नेछौं,’ उनले भने, ‘आज (बुधबार) रातभरि सभामुखका लागि प्रयास गर्नेछौं।’

कांग्रेस महामन्त्री शर्माले सभामुखको निर्वाचनपछि राष्ट्रपति निर्वाचनको विषयमा कुरा हुने बताए। कांग्रेसले प्रस्ताव गरेको व्यक्ति नै राष्ट्रपति हुने दाबी उनले गरे। ‘केही समयपछि शीतलनिवासमा कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपतिका रूपमा देख्नुहुनेछ,’ शर्माले भने। तर त्यो कसरी सम्भव छ भन्ने उनले खुलाएनन्। दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिने बेलामै माओवादीले कांग्रेसलाई राष्ट्रपति दिने समझदारी भएको नेताहरूले बताउँदै आएका छन्। कांग्रेसले दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिनुअघि एमाले र माओवादीबीच राष्ट्रपति एमालेले पाउने समझदारी भएको थियो। एमालेसँग उक्त समझदारी भएको स्वीकार गर्दै दाहालले प्रधानमन्त्रीमा विपक्षी कांग्रेसले पनि विश्वासको मत दिएपछि परिस्थिति फेरिएको भन्दै राष्ट्रिय समझदारीको पक्षमा आफूलाई उभ्याएका छन्। त्यसले एमालेलाई झस्काएको छ।  

दाहाल साढे दुई वर्षपछि मुलुकका सबै राजकीय पद एमालेको हातमा पुग्दा परिस्थिति जटिल बन्न सक्ने विश्लेषणमा पुगेको निकट एक नेताको दाबी छ। प्रधानमन्त्री पद माओवादीले जुनसुकै बेला पनि गुमाउन सक्ने भन्दै ती नेताले भने, ‘साढे दुई वर्षपछि त्यो (प्रधानमन्त्री) पनि एमालेलाई दिने भनिएको छ। त्यसपछि राष्ट्रपति, प्रधानमन्त्री मात्र होइन, सर्वोच्च अदालतका प्रधानन्यायाधीशका साथै अधिकांश संवैधानिक अंगका प्रमुख एमालेप्रति सहानुभूति राख्ने हुनेछन्।’ सभामुख र राष्ट्रियसभा अध्यक्ष पनि आफ्नै पक्षका हुँदा एमालेले जे गर्न खोज्यो त्यही हुने अवस्था आउन सक्ने विश्लेषणमा दाहाल पुगेको सुनाउँदै ती नेताले भने, ‘कांग्रेसले पनि त्यस्तो अवस्था आउन सक्नेतर्फ सचेत गराएको छ। हामीले पनि नेतृत्वलाई त्यही भन्दै आएका छौं।’

एमाले र कांग्रेस दुवैसँगको सम्बन्धलाई समदुरीमा राख्नेगरी माओवादीले बीचको मान्छे अर्थात् स्वतन्त्रलाई राष्ट्रपतिमा प्रस्ताव गर्नसक्ने सम्भावना पनि बलियो रहेको ती नेताले बताए। त्यस्तो अवस्थामा पूर्वप्रधानन्यायाधशी कल्याण श्रेष्ठलाई माओवादीले अघि सार्नसक्ने स्रोतको दाबी छ। श्रेष्ठको नाममा कांग्रेस र एमाले दुवैको समर्थन जुट्नसक्ने माओवादी नेताहरूको बुझाइ छ।  

तर एमालेले राष्ट्रपतिमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै निरन्तरता दिन चाहेको छ। संविधानले दुई कार्यकालभन्दा बढी एउटै व्यक्ति राष्ट्रपति हुन नपाउने भने पनि भण्डारी नयाँ संविधानको व्यवस्थाअनुसार एकपटक मात्र राष्ट्रपतिको जिम्मेवारीमा पुगेको एमाले नेताहरूको बुझाइ छ। एमाले सांसद सुवास नेम्वाङले पनि राष्ट्रपतिमा चाहना देखाएका छन्। तर उनलाई वर्तमान राष्ट्रपतिले नै सहयोग नगर्ने एमालेका नेता बताउँछन्। राष्ट्रपतिमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, डोरमणि पौडेल मात्र होइन, उपमहासचिव विष्णु रिमालसहितका नेताहरूको नाम पनि चर्चामा छ। एमालेभित्र राष्ट्रपतिका विषयमा छलफल सुरु नभएको बताउँदै उपमहासविच रिमालले भने, ‘म अहिले कुनै लाभको पद प्राप्ति गर्नेभन्दा पनि पार्टीको काममै सक्रिय छु। पार्टीको काममै लागिरहेको छु। राष्ट्रपतिमा जाने अहिले कुनै सोच र तयारी छैन।’

एमाले चरणबद्ध रूपमा प्रधानमन्त्री, सभामुखसहितका विषयमा छलफल गर्दै अघि बढेको बताउँदै रिमालले भने, ‘बाहिर राष्ट्रपतिका विषयमा चर्चा भए पनि हाम्रो पार्टीभित्र छलफल भएको छैन।’

माओवादीकोे समर्थन पाउने अवस्थामा रामचन्द्र पौडेल कांग्रेसबाट राष्ट्रपति बन्ने निकटहरूके बुझाइ छ। कांग्रेस नेता कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि पनि राष्ट्रपति पदका आकांक्षी रहेको निकटहरूको बुझाइ छ। कांग्रेस उम्मेदवारलाई माओवादीले समर्थन नगर्ने अवस्थामा उसले महन्थ ठाकुरलाई राष्ट्रपतिमा प्रस्ताव गर्नसक्ने एक नेताले बताए। नेकपा एसका नेता झलनाथ खनलाले पनि राष्ट्रपतिमा आकांक्षा राखेका छन्।

एमाले र कांग्रेस दुवैसँगको सम्बन्धलाई समदुरीमा राख्नेगरी माओवादीले बीचको मान्छे अर्थात् स्वतन्त्रलाई राष्ट्रपतिमा प्रस्ताव गर्नसक्ने सम्भावना पनि बलियो रहेको ती नेताले बताए। त्यस्तो अवस्थामा पूर्वप्रधानन्यायाधशी कल्याण श्रेष्ठलाई माओवादीले अघि सार्नसक्ने स्रोतको दाबी छ। श्रेष्ठको नाममा कांग्रेस र एमाले दुवैको समर्थन जुट्नसक्ने माओवादी नेताहरूको बुझाइ छ।  

तर एमालेले राष्ट्रपतिमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै निरन्तरता दिन चाहेको छ। संविधानले दुई कार्यकालभन्दा बढी एउटै व्यक्ति राष्ट्रपति हुन नपाउने भने पनि भण्डारी नयाँ संविधानको व्यवस्थाअनुसार एकपटक मात्र राष्ट्रपतिको जिम्मेवारीमा पुगेको एमाले नेताहरूको बुझाइ छ। एमाले सांसद सुवास नेम्वाङले पनि राष्ट्रपतिमा चाहना देखाएका छन्। तर उनलाई वर्तमान राष्ट्रपतिले नै सहयोग नगर्ने एमालेका नेता बताउँछन्। राष्ट्रपतिमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, डोरमणि पौडेल मात्र होइन, उपमहासचिव विष्णु रिमालसहितका नेताहरूको नाम पनि चर्चामा छ। एमालेभित्र राष्ट्रपतिका विषयमा छलफल सुरु नभएको बताउँदै उपमहासविच रिमालले भने, ‘म अहिले कुनै लाभको पद प्राप्ति गर्नेभन्दा पनि पार्टीको काममै सक्रिय छु। पार्टीको काममै लागिरहेको छु। राष्ट्रपतिमा जाने अहिले कुनै सोच र तयारी छैन।’

एमाले चरणबद्ध रूपमा प्रधानमन्त्री, सभामुखसहितका विषयमा छलफल गर्दै अघि बढेको बताउँदै रिमालले भने, ‘बाहिर राष्ट्रपतिका विषयमा चर्चा भए पनि हाम्रो पार्टीभित्र छलफल भएको छैन।’ माओवादीकोे समर्थन पाउने अवस्थामा रामचन्द्र पौडेल कांग्रेसबाट राष्ट्रपति बन्ने निकटहरूकाे बुझाइ छ। कांग्रेस नेता कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि पनि राष्ट्रपति पदका आकांक्षी रहेको निकटहरूको बुझाइ छ। कांग्रेस उम्मेदवारलाई माओवादीले समर्थन नगर्ने अवस्थामा उसले महन्थ ठाकुरलाई राष्ट्रपतिमा प्रस्ताव गर्नसक्ने एक नेताले बताए। नेकपा एसका नेता झलनाथ खनलाले पनि राष्ट्रपतिमा आकांक्षा राखेका छन्।

प्रकाशित: ५ माघ २०७९ ००:२९ बिहीबार

नेपाली काँग्रेस