राजनीति

सभामुखको विषयमा हामी आज निर्णय गर्छाैं: कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बिहीबार हुने सभामुखको निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेको छ। उम्मेदवारी र उम्मेदवारको विषयमा टुंगो लगाउन बुधबार बिहान सभापति शेरबहादुर देउवानिवासमा पदाधिकारी बैठक बस्ने तयारी भएको हो।  

पदाधिकारी बैठकपछि कांग्रेसले विपक्षमा बसेका अन्य दलसँग छलफल गरेर टुंगोमा पुग्ने एक नेताले जानकारी दिए। ‘सभामुखमा विपक्षी दलहरूको तर्फबाट उम्मेदवारी दिने अवस्था छ,’ कांग्रेस एक पदाधिकारीले भने, ‘बुधबार बिहान पदाधिकारी बैठक र त्यसपछि विपक्षी अन्य दलसँगको छलफलबाट टुंगोमा पुग्छौं।’

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले सभामुख निर्वाचनलाई लिएर मंगलबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा आयोजना  गरेको सर्वदलीय बैठकमा पनि कांग्रेस राष्ट्रपति र सभामुख निर्वाचनबारे सत्ता गठबन्धनसँग छलफल गर्न तयार रहेको धारणा राखेका थिए।

सर्वदलीय बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखमा सहमति हुन्छ कि भनेर प्रधानमन्त्री दाहाललाई प्रस्ताव राखेको जानकारी दिँदै कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले त्यसमा आफूहरू छलफलका लागि तयार रहेको बताए। प्रधानमन्त्रीले विश्वासको मत दिएकोमा सबै दलहरूलाई धन्यवाद दिएको जानकारी दिँदै लेखकले भने, ‘प्रधानमन्त्रीजीले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखका लागि पनि सहमति गरेर अगाडि बढ्न सकिन्छ कि भन्ने कुरा पनि राख्नुभयो। तर त्यहाँ कुनै निर्णय हुने कुरा थिएन र होइन। हामीले छलफलका लागि कांग्रेस तयार छौं भन्यौं।’ प्रधानमन्त्री दाहालले सहमतिबाटै मुलुकलाई अघि बढाउन सकिने भन्दै सबै दलहरूलाई सोहीअनुसार अघि बढ्न तयार रहेको धारणा राखेका थिए। त्यसै क्रममा कांग्रेस सत्ता पक्ष कि विपक्षी भन्ने प्रश्न उठेको जानकारी दिँदै लेखकले भने, ‘कांग्रेस प्रतिनिधिसभा तथा राष्ट्रियसभामा प्रमुख विपक्षी दलको रूपमा रहेको छ। र, हाम्रो पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री माननीय शेरबहादुरजी प्रमुख विपक्षी दलको नेताको हैसियतमा हुनुहुन्छ भनेर आफ्ना कुरा राख्यौं।’

राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख साझा पद भएकाले सहमतिबाट चयन गर्न आफूहरू छलफलका लागि तयार रहेको कांग्रेस सभापति देउवाले बताए। देउवापछि बोलेका एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखका विषयमा सत्ता साझेदार दलहरूबीच सहमति भइसकेको धारणा राखेका थिए। उनले अन्य विषयमा भने सहमति बनाएर जान सकिने धारणा राखेका थिए। अन्य दलका नेताहरूले पनि बैठकमा आआफ्नो धारणा राखेका थिए।

सर्वदलीय बैठकको समापन गर्दै प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष दाहालले पुस १० गते सहमति गर्ने क्रममा प्रमुख प्रतिपक्षी कांग्रेस पनि सहमतिमा आउन सक्छ भन्ने आफूहरूले आकलन नगरेको बताएका थिए। उनले कांग्रेसले प्रधानमन्त्रीमा विश्वासको मत दिएर सहमतिका लागि ढोका खोलेको भन्दै परिस्थति फेरिएको धारणा राखेका थिए। सहमतिबाटै अघि बढ्न आफू तयार रहेको भन्दै दाहालले बैठकमा भनेका थिए, ‘त्यतिबेला कांग्रेस आउँछ भन्ने नहुँदा एउटा कुरा भएकै हो तर अहिले परिस्थिति फेरिएको छ। सकेसम्म राष्ट्रिय सहमति कायम गरेर अघि बढौं।’

प्रकाशित: ४ माघ २०७९ ००:२९ बुधबार

नेपाली कांग्रेस