राजनीति

मुलुकमा फेरि राजनीतिक एवं संवैधानिक रिक्तता निम्तिने खतराः अोली

पत्रकार सम्मेलनमा मन्तव्य राख्दै अोली। तस्बिरः अशोक दाहाल

काठमाडौं–पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले कांग्रेस–माओवादी गठनबन्धन तोकिएको मितिमा निर्वाचन नगराएर मुलुकमा राजनीति तथा संवैधानिक रिक्तताको स्थितिमा पुर्याउने योजनामा रहेको बताएका छन्।

उनले विगतमा प्रधानन्यायाधीशको सरकार बनाएजस्तै गरी मुलुकलाई राजनीतिक र संवैधानिक रिक्ततामा पुर्याउने षड्यन्त्रमा दुई दल लागेकोे आरोप लगाए। मंगलबार एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा प्रेस चौतारीले आयोजना गरेको अन्तरक्रियामा ओलीले कांग्रेस–माओवादी गठबन्धन र मधेसी मोर्चाबीच भएको सहमतिले मुलुकमा संवैधानिक रिक्तता उत्पन्न हुने दाबी गरे। ‘अहिले मुलुकमा राजनीतिक र संवैधानिक रिक्तता उत्पन्न गर्ने गरी सम्झौता भएका छन्,’ उनले भने,‘विगतमा पनि प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाउनुपर्ने अवस्था निम्त्याइएको थियो। अहिले पनि  त्यस्तै खेल भइरहेका छन। तर त्यसो भयो भने एमाले चुप लागेर बस्दैन।’ सोही षड्यन्त्र अन्तर्गत सरकारले स्थानीय निकायको निर्वाचन मंसिरमा नगर्ने भनेको उनले दाबी गरे।

उनले कांग्रेस माओवादीले मधेसी मोर्चासँग गरेको सम्झौता आफूहरुले अनुमोदन नगर्ने बताए।  ‘कसले कहाँ गएर के सम्झौता गर्छ, त्यो एमालेको सरकोकारको विषय होइन,’ उनले भने,‘ कसैले गरेको सम्झौता एमालेले अनुमोदन गर्दैन।’

ओलीले एमालेले प्रतिशोधको राजनीतिक नगर्ने भन्दै संविधान संशोधन गर्न औचित्य पुष्टि हुनुपर्ने बताए। ‘एमाले प्रतिशोधका राजनीतिक गर्दैन,’ उनले भने,‘अहिले संविधान संशोधनको कुरा उठेको छ। त्यसको आधार र औचित्य पुष्टि हुन्छ भने एमाले बाधक बन्दैन।’

ओलीले वर्तमान सरकार कहाँबाट बनेको भन्ने सिंग्लन नै थाहा पाइसकेपछि रिमोटको अर्थ नहुने जनाए। कांग्रेस–माओवादी गठनबन्धनप्रति लक्षित गर्दै उनले भने,‘अहिले रिमोटका कुरा  आइरहेका छन्, वर्तमान सरकार कहाँबाट बनेको भन्ने सिग्नल नै आइसकेपछि रिमोटको के अर्थ?’

ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालप्रति लक्षित गर्दै आफू नेतृत्वको सरकारले आफैं बनाउने गरी अगाडि बढाएको आयोजनालाई स्रोत अभाव भए आफूलाई निवेदन दिए स्रोत जुटाइदिने बताए। प्रधानमन्त्री निर्वाचनका दिन माओवादी अध्यक्ष दाहालले सरकारले अगाडि बढाएको आयोजना आफैं बनाउन स्रोत अभाव हुने बताएका थिए।

अोलीको मन्तव्य सुन्नुहोस्ः

 

प्रकाशित: २६ श्रावण २०७३ ०९:३४ बुधबार

मुलुकमा फेरि राजनीतिक एवं संवैधानिक रिक्तता निम्तिने खतराः अोली