राजनीति

विधिवत महाधिवेशन माग गर्दै बन्दसत्र हल बाहिर प्रदर्शन

काठमाडौं— मंगलबार २ बजेसम्मका लागि नेविसंघ महाधिवेशन पुनःसुरु हुनुअघि अध्यक्ष प्रत्यासी कुन्दन काफ्ले समूहले भृकुटीमण्ड क्षेत्रमा प्रदर्शन गरेको छ। विधिवत महाधिवेशन र अनसनकारी विद्यार्थीको जीवन रक्षा माग गर्दै काफ्ले समूहले प्रदर्शन गरेको हो।

प्रदर्शनीमार्गमा प्रदर्शन गरिरहेको समूहलाई प्रहरीले महाधिवेशनस्थल प्रवेश गर्नबाट रोक्ने क्रममा केहीबेर झडप भएको थियो। 'हाम्रो भित्र पस्ने योजना थिएन। हामी सडकमा प्रदर्शन गरिरहेका छौं', काफ्ले समूहका एक विद्यार्थी नेताले नागरिकन्युजसँग भने।

बन्दसत्र हुने हलभन्दा बाहिर पट्टि काफ्ले समूहले अहिले कोणसभा गरिरहेको छ। कोणसभामा देशभरिबाट आएका सबै प्रदेशका प्रतिनिधि नेताहरुले बोलिरहेका छन्। विद्यार्थी नेताहरु डिल्लीराम सुवेदी, युवराज पाण्डे, शैलेन्द्र शर्मा, परमेश्वर साह, विपीन अधिकारी, मुक्ति पौडेल, राजन कुँवर, चक्र जोशीलगायतले कोणसभालाई सम्बोधन गर्दै विधिवत महाधिवेशनको माग गरेका छन्।

पार्टीका नेताहरु भागबण्डाका लागि कोठे वार्तामा लागेको भन्दै विद्यार्थी नेताहरुले विधिवत महाधिवेशनको माग गरेका हुन्।

फर्जी प्रतिनिधि सच्याएर विधिवत महाधिवेशन गर्न माग गर्दै नेविसंघका दुई नेता आमरण अनसनमा छन्। महाधिवेशन उद्‌घाटन पहलिा  पार्टी सभापति शेरबहादुर देउवाले मोडल अस्पताल पुगेर अनसनरत विद्यार्थी नेतासँग भेट गरेका थिए। माग जायज भएको उल्लेख गर्दै उनले सोही दिन विवाद सल्टाउने आश्वसन दिएका थिए। बरिष्ठ नेता रामचन्द्र पौडेलले विवाद अन्त्य नगरी भागबण्डा गर्नुपर्ने अड्डी कसेपछि सहमति खोज्न आइतबारका लागि तय भएको बन्दसत्र सोमबार २ बजेसम्मका लागि स्थगित गरिएको थियो।

महाधिवेशनबाट विधिवत ढंगले नेतृत्व चयन हुनुपर्ने काफ्ले समूहको माग रहँदै आएको छ।

प्रकाशित: २५ श्रावण २०७३ ०८:३५ मंगलबार

विधिवत महाधिवेशन माग गर्दै बन्दसत्र हल प्रदर्शन