राजनीति

प्रतिनिधि टुंगो नलाग्दा बन्दसत्र सर्‍यो

काठमाडौं- महाधिवेशन प्रतिनिधि टुंगो नलाग्दा नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको बन्दसत्र प्रभावित भएको छ। विवादित ११ जिल्लाको प्रतिनिधि टुंगो लगाउन पार्टीको निर्देशक समिति सक्रिय रहे पनि सहमति जुट्न नसक्दा महाधिवेशन सोमबार बिहान ११ बजेका लागि तोकिएको बन्दसत्र मंगलबार २ बजेसम्मका लागि स्थगित भएको हो।

संघको ११ औं महाधिवेशन सभापति शेरबहादुर देउवाले आइतबार राजधानीमा उद्घाटन गरेका थिए। संघले प्रतिनिधि कार्ड लिनका लागि मंगलबार बिहान ८ बजे पार्टी कार्यालय सानेपामा आफ्नो परिचयपत्र र फोटोसहित सम्पर्क गर्न पनि सबै प्रतिनिधिलाई अनुरोध गरेको छ।

पार्टीभित्र विद्यमान गुटका आधारमा विवादित जिल्लाका प्रतिनिधि भागबन्डा गरी समाधान खोज्ने प्रयास भए पनि कसले कति पाउने भन्ने टुंगो लाग्न सकेको छैन। विवादका कारण भक्तपुर, सोलुखुम्बु, कास्की, रुपन्देही, कञ्चनपुर, सुर्खेत, मुस्ताङ, सिरहा, सर्लाही, पर्सा र धनुषाको प्रतिनिधि टुंगो लाग्न सकेको छैन।

त्यस्तै, सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले यसअघि टुंगो लगाइएको भनिएको ६४ जिल्लामा पनि नाम थप गरिएको जनाउँदै त्यसलाई पुनरवलोकन गर्न माग गरेका छन्।

प्रतिनिधि टुंगो नलाग्दा बन्दसत्र स्थगित भए पनि देशभरिबाट आएका संघका नेताहरू सोमबार दिनभरि गुटगत भेला र कार्यक्रममा सहभागी भएका छन्। त्यस्तै, पार्टीका नेताहरू संघको नयाँ नेतृत्व आफ्नो पक्षमा पार्न सक्रिय छन्।

संघको नेतृत्वका लागि सभापति शेरबहादुर देउवा पक्षबाट नैनसिंह महरा र जितजंग बस्नेतमध्ये एक र नेता रामचन्द्र पौडेल पक्षबाट मनोजमणि आर्चाय र दीपक भट्टराईमध्ये एकलाई अघि सार्ने तयारी छ। पौडेल पक्षले बिहान र साँझ पनि निकट नेताको भेला गरेको छ भने देउवा पक्षले एकलाई पार्टी केन्द्रीय सदस्य बनाएर अर्कोलाई अध्यक्षमा अघि सार्ने तयारी गरेको निकट स्रोतको दाबी छ।

प्रकाशित: २५ श्रावण २०७३ ०२:४१ मंगलबार

प्रतिनिधि टुंगो नलाग्दा बन्दसत्र सर्‍यो