काठमाडौं–पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले साउन १९ गते प्रधानमन्त्रीको सरकारी निवास छाडेपछि त्यहाँका सामानहरु निजी सचिवालयका व्यक्तिले आफैसँग लिएर गएको भन्ने केही सञ्चार माध्यममा आएका समाचार कपोलकल्पित र भ्रामक भएको ओलीको सचिवालयले जनाएको छ।
समाचारमा देखाइएका सामानका पोका र कोठा वास्तविक नभएको र भान्साका रुपमा देखाइएको फाटो बालुवाटारको नरहेको पनि ओलीको सचिवालयले जनाएको छ। अन्यत्रतिरको फाटो प्रयोग गरी पूर्व प्रधानमन्त्री ओलीलाई बदनाम गराउने नियतले झुठा समाचार सम्प्रेषण भइरहेकोमा ओलीको सचिवालयले आपत्ति समेत जनाएको छ ।
उनको सचिवालयमा कार्यरत रहेका रमेश भट्टराईका अनुसार पूर्व प्रधानमन्त्री ओलीले सरकारी निवास छाड्नु अघि बालुवाटार निवासको व्यबस्थापन हेर्न त्यहाँ रहेका शहरी विकास तथा भवन विभाग र प्रधानमन्त्री कार्यालयबाट खटिएका कर्मचारीको रोहबरमा सामानहरुको बुझबुझारथ गरिएको थियो। तर, त्यस्तो वास्तविकतालाई ढाकछोप गरी झुठा समाचार सम्प्रेषण गर्नुको पछाडि पूर्व प्रधानमन्त्रीलाई बदनाम गराउने नियत रहेको उनले जनाए।
प्रकाशित: २४ श्रावण २०७३ ०७:५१ सोमबार