राजनीति

‘कांग्रेसको समर्थनले जिम्मेवारी बढ्यो’

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदा नेपाली कांग्रेसको समेत समर्थन प्राप्त गरेपछि आफ्नो जिम्मेवारी बढेको बताएका छन्। ‘सात दलको समर्थन लिएर राष्ट्रपतिकहाँ जाँदा नेपाली कांग्रेसले भोट हाल्ने भन्ने थिएन,’ प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार दिउँसो सम्पादकहरूसँगको भेटमा दाहालले भने, ‘कांग्रेसले समर्थनमा भोट हालेपछि मेरो पनि जिम्मेवारी हुन्छ।’

‘एक खालको सहमति जस्तो त भयो, त्यसले जनतामा आशा, जिज्ञासा पनि जन्माएको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘हामीले कसरी जाने भनेर भन्दा पनि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख लगायत पदमा सहमतिको वातावरण बनाउनेतर्फ कोसिस गर्छौं।’

प्रधानमन्त्री दाहालले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखबारे कसैसँग पनि सहमति गरिनसकेको बताए। प्रधानमन्त्री नियुक्तिमा सात पार्टीले समर्थन दिएको भए पनि विश्वासको मतपछि सबैलाई विश्वासमा लिएर अगाडि बढ्नुपर्ने आवश्यकताबारे उनले चर्चा गरे।

नेकपा एमालेको पहलमा १ सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका दाहाललाई पुस २६ गते प्रतिनिधिसभामा उपस्थित २ सय ७० मध्ये दुई सांसदले मात्र विश्वासको मत दिएका थिएनन्। सबै सांसद उपस्थित भएको भए यो संख्या २ सय ७३ पुग्थ्यो भन्नेसमेत उनले बताए।

प्रधानमन्त्री नियुक्तिका निम्ति हस्ताक्षर नगरेका कांग्रेस र नेकपा एकीकृत समाजवादीले समेत विश्वासको मत दिएपछि राजनीतिक परिदृश्य फेरिएको ठानिँदै छ। त्यसको पुष्टि प्रधानमन्त्री दाहालका अभिव्यक्तिले गरेको छ।

राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख लगायत पदको निर्वाचनमा सबैसँग सहमति गरेर अगाडि बढ्ने दाहालले संकेत गरेका छन्। प्रतिनिधिसभाको सम्पूर्णजसो सदस्यले समर्थन गरेको स्थितिमा सर्वदलीय सहमति गरेर अघि बढ्न आफूले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीसँग मंगलबार सर्वदलीय बैठक गर्न परामर्श गरेको जानकारीसमेत उनले दिए। ‘नयाँ परिदृश्यमा सभामुखमा के गर्ने?’ माघ ५ गते हुन लागेको प्रतिनिधिसभाका सभामुखको निर्वाचनको सन्दर्भ निकाल्दै प्रधानमन्त्री दाहालले भने, ‘सरकारलाई मत हाल्नेहरूसँग किन सहमति नगर्ने? सहमतिमा जाऔं भन्ने हो।’

दाहालले भने, ‘हामीले यी पद कसलाई दिने भनेर लिखित सहमति गरेका छैनौं, आगामी दिनमा छलफल गर्दै अगाडि बढ्यौं भने सहज हुनेछ। सर्वदलीय बैठकपछि सजिलो हुन्छ भन्ने मलाई लागेको छ। तपाईंहरूले पनि देख्दै जानुहुनेछ।’

प्रधानमन्त्री दाहालले सात दलबीचको न्यूनतम साझा कार्यक्रम र प्रतिनिधिसभाबाट विश्वासको मत लिँदा आफूले दिएका अभिव्यक्तिप्रति प्रतिबद्ध रहेको बताए।

सुशासन र आर्थिक पक्षमा जोड दिँदै दाहालले आफू नियमित रूपमा सिंहदबार जाने प्रतिबद्धतासमेत व्यक्त गरे। ‘यो पटक हामी निकै चुनौतीको स्थितिमा छौं,’ उनले भने, ‘सुशासन र अर्थतन्त्रका हिसाबले देश अप्ठेरोमा छ। हामीले यसमा काम गर्न नसक्ने हो भने प्रधानमन्त्री मात्र होइन, देशै असफल होला भन्ने खतरा पनि छ।’

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पहिलो विदेश भ्रमण भारत हुने जानकारी दिएका छन्। यसको कूटनीतिक तयारीसमेत सुरु भइसकेको उनले बताए।

प्रकाशित: १ माघ २०७९ ००:१८ आइतबार

राजनीतिक परिदृश्य फेरिएको प्रधानमन्त्री पुष्पकमल दाहाल