राजनीति

‘अख्तियार प्रमुखसँग डराएका छैनौं'

काठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने मागसहित डा. गोविन्द केसीका समर्थकले व्यवस्थापिका संसद्को सुशासन समिति सभापति मोहनसिंह राठौरलाई ज्ञापनपत्र बुझाएका छन्।

‘सोलिडारिटी फर डा. केसी अलायन्स' ले शुक्रबार राठौरलाई भेटेर चिकित्सा क्षेत्रमा कार्कीले क्षेत्राधिकार नाघेर गरेका हस्तक्षेपको विवरणसहित ३० पेज लामो ज्ञापनपत्र बुझाएको हो। उनीहरूले लोकमानसहित अख्तियारका आयुक्त राजनारायण पाठकलाई महाअभियोग लगाउनुपर्ने प्रमाणको दस्ताबेजसमेत बुझाएका छन्।

ज्ञापनपत्र बुझाएपछि एलायन्सका प्रतिनिधिले राठौरसँग दुई घन्टा छलफल गरेका थिए। छलफलक्रममा राठौरले बाहिर हल्ला भएजस्तो अख्तियारसँग सांसदहरू नडराएको प्रतिक्रिया दिएका थिए। 'हामी एक जना सांसद पनि अख्तियारसँग डराएका छैनौं, अख्तियार प्रमुखलाई हामीले संरक्षण गर्नुपर्ने कुनै कारण छैन,' उनले भने, 'अख्तियारमाथिको निगरानी र अनुगमन हामीले गर्ने हो र गर्छौं। वर्तमान अख्तियार प्रमुखमाथि लागेका सबै आरोपको छानबिन गर्छौं। यो सुरुवात मात्र हो।'

उनले कुनै पनि संवैधानिक निकाय र व्यक्तिलाई संवैधानिक दायरा नाघेर काम गर्ने अधिकार नभएको बताए। महाअभियोग लगाउने कुरा आफ्नो कार्यक्षेत्रमा नपर्ने भन्दै उनले हस्तक्षेप भएका विषयबारे छलफलमा बोलाउन सकिने बताएका थिए। 'सुशासन समिति आफैँले महाभियोग लगाउने नभए पनि अख्तियार प्रमुख कार्कीलाई दोषी पाइएमा उनका कमजोरीबाहिर ल्याउन हामी दृढ छौँ,' उनले भने।

एलायन्सले सुशासन समितिलाई अख्तियार प्रमुख कार्कीमाथि गरिने अनुसन्धानको दायरा अझै फराकिलो बनाउनुपर्ने माग गरेको छ। डा. केसीले उठाएका माग एउटा व्यक्तिको मात्र माग नभएर यो देशमा सुशासन र कानुनी राज्य देख्न चाहने सम्पूर्ण युवा पुस्ताको आन्दोलन बनिसकेको भन्दै एलायन्सले सुशासन समितिका हरेक काम–कारबाहीलाई नजिकबाट हेरिरहेको ज्ञापनपत्रमा उल्लेख छ।

 

प्रकाशित: २२ श्रावण २०७३ ०३:११ शनिबार

अख्तियार प्रमुखसँग डराएका छैनौं