राजनीति

गण्डकीको सभामुखमा माओवादीका कृष्ण धिताल निर्वाचित

गण्डकी प्रदेशका नवनिर्वाचित सभामुख कृष्णप्रसाद धिताल। तस्बिर: सन्देश/नागरिक।

गण्डकी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित भएका छन्। गण्डकी प्रदेश सभामा आज भएको सभामुख पदको निर्वाचनमा धिताल बहुमतले निर्वाचित भएका हुन्।

सभामुखमा निर्वाचित धितालले ३२ मत प्राप्त गरे। उनको विपक्षमा भने २६ मत खस्यो। नेकपा माओवादी केन्द्रका फडिन्द्र देवकोटाको प्रस्ताव र नेकपा एमालेका रोसन गाहा मगरको समर्थनमा प्रस्तावित धितालको पक्षमा सत्तारुढ दलसँगै प्रतिपक्षमा बसेका एक जना सांसदलेपनि मतदान गरे। 

धितालाई सभामुख बनाउने पक्षमा सत्तारुढ नेकपा एमालेका २१, नेकपा माओवादी केन्द्रका ८ र राप्रपाका २ र एक स्वतन्त्र सांसदले मतदान गरे। विपक्षमा भने नेपाली कांग्रेसका २६ जनाले मतदान गरे। ६० सदस्यीय गण्डकी प्रदेश सभामा बैठकको अध्यक्षता गरेका मित्रलाल बस्यालले मतदानमा भाग लिन पाएनन्। नेपाली कांग्रेसका एक सांसद भने मतदानका बेला अनुपस्थित रहे।

धितालको पक्षमा प्रतिपक्षमा बस्ने घोषणा गरेका स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ उर्फ दीपक मनाङेलेपनि मत दिएका छन्। यसअघि नेकपा एमालेका खगराज अधिकारीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका उनले मन्त्री हुने संकेत नपाएपछि प्रतिपक्षमा बस्ने घोषणा गरेका थिए। 

सोही घोषणा अनुसार मनाङेले मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत दिएनन्। बरु उनी सो दिन संसदमा अनुपस्थित रहे। तर शनिबार सभामुखको निर्वाचनमा भने प्रतिपक्षको बेञ्चमा बसेका उनले सत्तारुढ दलहरूद्वारा प्रस्तावित सभामुख धिताललाई मत दिएर फेरी एक पटक सत्तापक्षमा उभिएको सन्देश दिए।

सभामुखमा निर्वाचित धिताल गोरखा १ को (१) बाट निर्वाचित सांसद हुन्। उनी नेकपा एमालेका सुरेन्द्रबहादुर थापालाई पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।

सभामुखमा नेपाली कांग्रेसकी सरस्वती अर्याल तिवारीपनि उम्मेदवार थिइन्। तर पहिलो प्रस्ताव उपर भएको मतदानमै बहुमत पुगेर सभामुख चयन भएपछि उनलाई निर्णयार्थ प्रस्तुत गरिएन। कांग्रेसबाट सभामुखको उम्मेदवार बनेकी उनी समानुपातिकबाट प्रदेश सभा सदस्य बनेकी हुन्। उनको प्रस्तावकमा कांग्रेसकै डिल्लीप्रसाद सुवेदी र समर्थकमा टकराज गुरुङ थिए।

सभामुखमा निर्वाचित धितालले शनिबार नै शपथ लिएका छन्। उनले प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष शपथ लिएका हुन्।

प्रकाशित: ३० पुस २०७९ ११:३९ शनिबार