राजनीति

रातारात फेरियो मन्त्रीको सूची

काठमाडौं- अध्यक्ष पुष्पकमल दाहालले बुधबार प्रधानमन्त्री निर्वाचित भए पनि सोही दिन पदको शपथ लिएनन्। उनको चाहना शपथग्रहण गर्दा केही संख्यामै भए पनि मन्त्रीको घोषणा गर्नुपर्छ भन्ने थियो। जसअनुसार बिहीबार प्रधानमन्त्रीका रूपमा दाहालले र मन्त्रीमा माओवादीका तीन तथा कांगे्रेसका पनि त्यति नै जनालेे शपथग्रहण गर्ने तय गरियो।

शपथग्रहणको तयारी यत्तिमै सकिएन। पहिलो चरणमा क–कसले शपथग्रहण गर्ने भन्ने नाम पनि अघिल्लो दिनै तय गरियो जसका लागि  नेकपा माओवादी केन्द्रबाट कम्तीमा तीन नेता कृष्णबहादुर महरा, जनार्दन शर्मा र राम कार्कीले शपथ लिने पार्टीभित्रबाटै चर्चा चलाइयो। अध्यक्ष दाहालसँगै मन्त्रीको  शपथ लिन नेताहरू पनि व्यग्र प्रतीक्षामा थिए। 

तर, शपथ ग्रहण गर्नुअघि बिहीबार बिहान बसेको माओवादी हेडक्वार्टर बैठकले पहिले सार्वजनिक गरिएका नाममध्ये महराको मात्र अनुमोदन गर्‍यो। शर्मा र कार्कीको साटो पहिलो चरणमा दाहालसँगै दलजित श्रीपाइली र गौरीशंकर चौधरीलाई मन्त्रिमण्डलमा पठाउने निर्णय गर्‍यो।

माओवादी हेडक्वार्टरस्रोतका अनुसार दाहाल मन्त्रिपरिषद्मा श्रीपाइली र चौधरी सहभागी हुने चर्चा भए पनि पहिलो चरणमै हुने गरी निर्णय भएको थिएन। ती हेडक्वार्टर सदस्यले भने, 'एक्कासि श्रीपाइली र चौधरीको नाम आएपछि अध्यक्षसँगै उनीहरूले पहिलो चरणमा शपथ लिए। यसअघि नै मन्त्रीमा जाने भनी तय गरिएका नेता हेरेका हेर्‍यै भए।'

कांग्रेस–माओवादी गठबन्धनपछि जसरी सहजै दाहाल प्रधानमन्त्री हुन पाए, मन्त्रिमण्डल छनोट गर्न भने त्यो भन्दा निकै जटिल परिस्थिति सिर्जना हुँदै गएको स्वयं माओवादी नेता अनुभव गर्दैछन्। 'अन्तिम समयमा शर्मा र कार्की पहिलो चरणमा मन्त्री हुन रोकिएको घटना देख्दा चकित छौं,' एक नेताले भने, 'शपथ लिने तय भइसकेका नेता मन्त्री  हुन नसकेको देख्दा पार्टी कहाँबाट सञ्चालन हुन्छ भन्ने भेउ पाउन सकिएन।'

हेडक्वार्टर बैठकले पहिलो चरणमा श्रीपाइली, चौधरी र महराले मन्त्रीको शपथ लिने निर्णय गरेपछि माओवादीका तीन जना मात्र मन्त्री भए। कांग्रेससँगको निर्णयअनुसार माओवादीले आठ मन्त्रालयको जिम्मेवारी लिने सहमति भए पनि अझै को मन्त्रीमा जाने भन्नेबारे टुंगो लगाउन सकेको छैन।

'रातारात मन्त्री फेरिएको घटनाले अहिले नै बाँकी मन्त्री को हुने भन्नेबारे टुंगो लगाउनु बेकारजस्तो हुन्छ,' ती सदस्यले नागरिकसँग भने, 'कांग्रेसतिरको विवाद देख्दा सबैको मन्त्रीको टुंगो लाग्न लामै समय लाग्ने देखिएको छ। त्यसैले माओवादीले मात्र अहिले नै मन्त्री नछाने पनि फरक नपर्ने भयो।'

स्रोतका अनुसार माओवादीले प्राप्त गरेका आठ मन्त्रालयमध्ये अब पाँचवटाका लागि मात्र मन्त्रीको नाम टुंगो लगाउन बाँकी छ तर पाँच मन्त्रीका लागि एक दर्जन बढी नेता मन्त्री हुन कम्मर कसेर लागेका छन्।

'कोही प्रदेशको, कोही समुदायको, कोही वरिष्ठताको त कोही गुटको नाममा मन्त्री हत्याउने प्रयासमा छन्,' माओवादीका अर्का नेताले भने, 'धेरैको सोच राजनीति गर्नु भनेको मन्त्री हुनु मात्र हो कि जस्तो व्यवहार देखिन्छ। मन्त्री हुनकै लागि व्यापक चलखेल भइरहेको आशंका गर्न सकिन्छ।'

 स्रोतका अनुसार मन्त्रीमा पर्न दलित, जनजाति, महिलाका तर्फबाट मात्र नभई हालैको पार्टी एकीकरणमा समावेश भएका दलहरूले पनि सशक्त रूपमा दाबी गरिरहेका छन्।  यस अघि नै माओवादीले मन्त्री छनोट गर्दा क्षमता, दक्षता, समावेशी र प्रादेशिक सन्तुलनलाई ध्यान दिनु पर्ने निर्णय गरे  पनि अहिले  त्यो स्पिरिट कायम राख्न गाह्रो हुने कतिपयको बुझाइ छ। माओवादीभित्र  अवसर लिने बेला मात्र समावेशी र प्रादेशिक सन्तुलनको कुरा उठ्ने गरेको तर काम गर्नुपर्ने बेला त्यस्ता आवाजलाई बेवास्ता गर्ने गरिएको बताइन्छ।  पहिलो चरणमा माओवादीका तर्फबाट प्रधानमन्त्री दाहालसँगै, उपप्रधान तथा अर्थमन्त्री महरा, युवा तथा खेलकुद मन्त्री श्रीपाइली र कृषि मन्त्री चौधरीले शपथ लिए। सत्ता साझेदार कांग्रेससँगको सहमतिपछि माओवादीले पाएको उर्जा, स्थानीय विकास, कानुन, शिक्षा, सूचना तथा सञ्चार मन्त्रालयका लागि मन्त्रीको टुंगो लगाउन बाँकी छ।

प्रकाशित: २१ श्रावण २०७३ ०१:५५ शुक्रबार

रातारात फेरियो मन्त्रीको सूची