राजनीति

राजनीतिक महाभूकम्पका योजनाकार ‘ओली’ र पात्र ‘प्रचण्ड’ नै हुनः सदस्य गौतम

राष्ट्रिय सभा सदस्य बामदेव गौतमले नेकपा एमालेका अध्यक्ष ओलीलाई राजनीतिक महाभूकम्पका ‘योजनाकार’ र प्रधानमन्त्री दाहाललाई ‘पात्र’का रुपमा ब्याख्या गरेका छन्।

उनले शुक्रबार राष्ट्रिय सभामा आफ्नो भनाइ राख्दै भने, ‘यो राजनीतिक भुकम्प ल्याउने प्रमुख पात्रमा प्रचण्ड नै हो। महाभुकम्पका मुख्य योजनाकार, रचनाकार र मार्गदर्शक केपी ओली हुनुभएको छ।’

सदस्य गौतमले महाभारतमा अर्जुन र कृष्णहरुको भूमिकाको व्याख्या गर्दै भने, ‘धनुवाण चलाएर समाप्त गर्ने त अर्जुन नै हो।’

स्वास्थ्य समस्याका कारण आफू बसेकै स्थानबाट बोलेका सदस्य गौतमले राजनीतिक दलहरुबीच विभिन्न कालखण्डमा भइरहेका निर्वाचन गठबन्धन, सत्ता गठबन्धन र विश्वासको मतलाई भुकम्प र महाभुकम्पको संज्ञा दिएका हुन। उनले यसलाई गलत राजनीतिक अभ्यासको रुपमा व्याख्या गरेका थिए।

‘गएको स्थानिय तहको निर्वाचनमा पनि गठबन्धन गरेर पनिर्वाचनमा जाने प्रवृत्ति देखियो। २०७४ को निर्वाचन पनि त्यस्तै भएको थियो। प्रतिनिधिसभाको निर्वाचनमा यो दोस्रो घटना हो। गठबन्धन गरेर निर्वाचनमा जाने र सरकार पनि चलाउन। यस्तै हो भने एउटै पार्टी बनाए पनि फरक के पर्छ र?’, सदस्य गौतमले भने, ‘यसले जनताले कुन पार्टीले एजेण्डामा काम गर्छ कुन दल सही कुन गलत भन्ने छुट्टाउन पनि नपाउने भए।’

उनले प्रधानमन्त्री दाहाललाई बधाई पनि दिए। सदस्य गौतमले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई धन्यवाद पनि दिएका थिए।

प्रकाशित: २९ पुस २०७९ ०८:२८ शुक्रबार

बामदेव गौतम