राजनीति

कांग्रेसले भ्रातृ संगठनलाई पूर्णता दिने

नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघसहित पार्टीका प्रमुख भ्रातृ संगठनहरूको केन्द्रीय समितिलाई तत्काल पूर्णता दिने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा बिहीबार बसेको पदाधिकारी बैठकले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन घोषणा भएकाले नेपाल विद्यार्थी संघ केन्द्रीय समितिलाई तत्काल पूर्णता दिने निर्णय गरेको हो। अन्य भ्रातृ संगठनका केन्द्रीय समितिलाई पनि अविलम्ब पूर्णता दिन पार्टी पदाधिकारी सहमत भएका छन्।  

भ्रातृ संगठनका केन्द्रीय समितिलाई कसरी पूर्णता दिने भन्नेमा कुनै छलफल नभएको बैठकमा सहभागी एक पदाधिकारीले बताए। ‘स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आएकाले नेवि संघलाई तत्काल पूर्णता दिनुपर्छ भन्ने भएको छ,’ बैठकमा सहभागी ती पदाधिकारीले भने, ‘नेवि संघसहित भ्रातृ संगठनलाई पूर्णता दिने विधि भने बनेको छैन। कसैलाई जिम्मेवारी पनि तोकिएको छैन।’

२०७८ फागुन पहिलो साता बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले कार्यकाल सकिएका भ्रातृ संगठनका केन्द्रीय समिति भंग गरेको थियो। त्यो बैठकले नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, नेपाल लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज र नेपाल भूतपूर्व सैनिक संघका केन्द्रीय समिति भंग गरेको थियो।

स्थानीय तह निर्वाचनलगायत कारण देखाउँदै बैठकले महाधिवेशनबिनै १० वटा भ्रातृ संगठनका नयाँ समिति फागुनभित्रै बनाउने निर्णय गरेको थियो। नेवि संघसहित भ्रातृ संगठनका अध्यक्ष तोकिए पनि कांग्रेसले स्थानीय तह मात्र होइन, प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको दुई महिना बित्न लाग्दा पनि केन्द्रीय समितिलाई पूर्णता दिन सकेको छैन।  

कांग्रेसको १३औं महाधिवेशनबाट सभापतिमा पुनः निर्वाचित भएपछि देउवाले नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, तरुण दलसहित केही भ्रातृ तथा शुभेच्छुक संगठनको अधिवेशन गराएका थिए। तर नेताहरूको हानाथाप र महाधिवेशन नहुँदा कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संगठन लथालिंग बन्न पुगेका छन्।

सबै दलसँग छलफल गर्ने  

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिएको नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेशसभाको सभामुख र उपसभामुख निर्वाचनका लागि संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलसँग संवाद थाल्ने जनाएको छ। पदाधिकारी बैठकले सभामुख र उपसभामुखको निर्वाचनअघि सबै दलसँग संवाद गर्ने निर्णय गरेको हो।  

प्रतिनिधिसभाको सभामुख एमालेलाई दिने समझदारी सत्ता साझेदार दलहरूबीच बनिसकेको छ। राष्ट्रपति, उपराष्ट्रपति, प्रतिनिधिसभाको सभामुख र उपसभामुख तथा प्रदेशसभाका सभामुखको निर्वाचनअघि ठूलो दलको हैसियतले सबै दलसँग कांग्रेसले छलफल गर्ने भएको हो। अरू दलका साथै विशेष गरेर सरकारको नेतृत्व गरेको माओवादी केन्द्र र त्यसका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग कांग्रेस नेतृत्वले सभामुखसहित पदाधिकारी निर्वाचनका विषयमा कुरा गर्ने निर्णय गरेको छ।

प्रतिनिधिसभाले आगामी माघ ५ गते सभामुख चयन गर्ने कार्यक्रम छ। त्यसअघि नै सबै दलसँग छलफल गरी सहमतिको वातावरण निर्माण गर्न ठूलो दलको हैसियतले प्रयास गर्ने निर्णय भएको जानकारी सहमहामन्त्री बद्री पाण्डेले दिए। ‘प्रतिनिधिसभा र प्रदेशसभामा सभामुख र उपसभामुख चयनका लागि निर्वाचन हुने भएकाले सबै दलसँग छलफल गर्ने निर्णय भएको छ,’ पाण्डेले भने।

प्रकाशित: २९ पुस २०७९ ००:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App