राजनीति

सरकारलाई राष्ट्रियताको सवालमा काम गर्न पार्टीले घचघच्याइ रहने छ: अध्यक्ष नेपाल

फाइल तस्बिर।

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचार नियन्त्रण गर्न, विकास निर्माणको कामलाई गति दिने आशा र अपेक्षासहित आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको बताएका छन्। उनले १५ बुँदे सर्तसहित विश्वासको मत दिएको उल्लेख गरे।

पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले प्रधानमन्त्री दाहालले जनचाहना अनुसार काम गर्नेमा आफू आशावादी रहेको बताए। सरकारले नागरिकलाई अनुभूति हुने गरी काम गरे आफ्नो पार्टीले प्रतिपक्षमा बसेर पनि साथ र सहयोग गरिरहने उनको भनाइ थियो।

अध्यक्ष नेपालले विश्वासको मत लिने बेलामा गरेका प्रतिबद्धता पूरा गर्ने काममा केन्द्रित हुन प्रधानमन्त्री दाहाललाई आग्रह गरे। 

'सरकारलाई राष्ट्र, राष्ट्रियता र जनजीविकाको सवालमा काम गर्न पार्टीले घचघच्याइ रहने छ', उनले भने।

संविधानको मूलमर्म र भावनालाई ध्यान दिएर अघि बढ्न अध्यक्ष नेपालले प्रधानमन्त्रीलाई सचेत गराए।

प्रकाशित: २७ पुस २०७९ १५:४० बुधबार

माधवकुमार नेपाल