राजनीति

आफूलाई सुप्रिमो ठान्ने ओलीको पछि नलाग्न दाहाललाई नेपालको सुझाव

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफैंलाई सर्वेसर्वा ठान्ने केपी ओली प्रवृत्ति रहेको भन्दै त्यसको पछि नलाग्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका छन्।

प्रतिनिधिसभा विघटन गर्न नहुने संविधानको व्यवस्थालाई अझै  स्विकार नगर्ने ओलीले आफूलाई सुप्रिमो ठान्ने गरेको उल्लेख गर्दै उनले त्यस्तो नहुन प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका हुन्।

पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भ्रष्टाचार नियन्त्रण गर्ने, विकास, निर्माणको कामलाई गतिदिने आशा र अपेक्षासहित आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई १५ बूदे शर्तसहित विश्वासको मत दिएको पनि स्पष्ट पारे।

उनले आफ्नो पार्टीले दिएको समाजवादको खाकासहितको १५ बूँदे सुझावलाई ध्यान दिएर प्रधानमन्त्री पुष्पकमल दाहाल अघि बढने विश्वास समेत व्यक्त गरे। अध्यक्ष नेपालले संविधानको मूल मर्म र भावनालाई ध्यान दिएर अघि बढन पनि प्रधानमन्त्री दाहाललाई सचेत गराए।

उनले भने, ‘कमसेकम विगतमा गल्ती हुन पुग्यो भनेर महशुस भए त हुन्थ्यो। तर यो महशुस नै नगर्ने राजनीतिक वृत्तमा एउटा प्रवृत्ति देखिन्छ–मैले जे गरेँ, ठिक गरेँ। शिक्षा नलिने, नचेत्ने, त्रुटि भएको महशुस नगर्ने, अहंकार प्रर्दशन गर्ने, सबै कुराको ज्ञाता मै छु भन्ने ठान्ने, आफूलाई सुप्रिम र सुप्रिमो ठान्ने नेपाली राजनीतिमा पनि यो प्रवृत्ति देखिन्छ। यो प्रवृत्तिको सरकार वर्तमान प्रधानमन्त्री नभइदिनु होला है। मेरो आग्रह छ।’

प्रकाशित: २७ पुस २०७९ ०९:१९ बुधबार

माधवकुमार नेपाल