राजनीति

गोरखा पुगेर प्रधानमन्त्री दाहालले भने: ‘निर्वाचनअघि गरेका बाचा पूरा गर्छु’

प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन अघि गरेको बाचा पूरा गर्ने बताएका छन्। बुधबार गोरखा उद्योग बाणिज्य संघले सदरमुकाममा आयोजना गरेको ११ औँ गोरखा महोत्सवमा सम्बोधन गर्दै उनले भने, ‘निर्वाचन अभियानका दौरानमा तपाईहरुको अगाडी गरेको बाचा, कबुलहरु एउटा पनि भुलेको छैन, ति सबै प्रतिवद्धता राम्रैसँग सम्झनामा छ।’

गोरखा जिल्लाको जनप्रतिनिधिको रुपमा आफू प्रधानमन्त्री भएको प्रति गर्व महशुस भएको बताउँदै उनले गोरखाबासीलाई बधाई दिए्। ‘भौतिक पूर्वाधार होस् या यहाँको विद्युतिकरण, पर्यटन विकास या जडिवुटी, कृषिमा आधुनिकिरकण वा समग्र बिकासकालागि मेरो पहल रहनेछ’ प्रधानमन्त्री दाहालले भने। समग्र नेपालको विकासकालागि गोरखाले अग्रणी भूमिका खेल्ने उनले बताए।

साथै उनले उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ गोरखाकै रहेकाले यहाँको विकास निर्माणका काममा थप सहज हुने बताए। विश्वासको मत लिँदा राजनीतिक दलहरुबिच एकरुपता नआउँदा असहज हुने होकि भन्ने चिन्ता अब हटेको बताउँदै उनले सबैको सहकार्यमा विकास निर्माणका कामले गती लिने बताए।  

सबै राजनीतिक दलको साझा प्रधानमन्त्रीको रुपमा विश्वासको मत पाएको बताउँदै उनले असाधारण प्रक्रियाबाट राष्ट्रको सेवा गर्ने अवसर मिलेको बताए। ‘बूढीगण्डकी आयोजना अगाडी बढाउने, बेनिघाट लार्के सडक निर्माण, पालुङटार हवाई अड्डा संचालन लगायतका विषयमा काम हुनेछ’ उनले भने।

सडकहरु स्तरोन्नती गर्ने, सबै पालिकालाई सडक सञ्जालले जोड्ने बिगतका योजना कार्यन्वयन हुने प्रधानमन्त्री दाहालले बताए। विश्वासको मत लिँदै गर्दा सदनमा प्रस्तुत गरेका प्रतिवद्धता अनुसार काम हुने बताउँदै उनले झण्डै सतप्रतिशत मत प्राप्त हुनुलाई अवसर र निकै ठूलो जिम्मेवारीको रुपमा लिएको बताए। ‘यो निकै ठूलो जिम्मेवारी र गर्वको कुरापनि हो र ठुलो चुनौतीको कुरा पनि हो’ अध्यक्ष दाहालले भने। जनताको सहयोग, राजनीतिक दलको एकता र प्रतिवद्धताको बलमा यहाँको बिकासको परियोजनालाई अगाडी बढाउने आश्वासन उनले दिए।  

कार्यक्रममा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले निर्वाचनकाबेला गरेको योजना अनुसार काम गर्ने बताए। ‘गोरखाका बिकासलाई एकिकृत रुपमा अगाडी बढाइनेछ’ उनले भने। गोरखा १ बाट निर्वाचित सांसद राजेन्द्र बजगाईले विज्ञ समूहको सल्लाह, सुझावमा गोरखाको विकासलाई अघि बढाउन प्रधानमन्त्रीको ठूलो सहयोग आवश्यक रहेको बताए। नेपाली कांग्रेस गोरखाका सभापति एवं गण्डकी प्रदेश सांसद नन्दप्रसाद न्यौपानेले जिल्लाको विकासका निम्ती सबै दल, नागरिकहरु एकठाउँमा हुनुपर्ने बताए।  

उद्योग बाणिज्य संघ गोरखाका अध्यक्ष कृष्णकुमार श्रेष्ठले उद्योग कलकारखानाको बिकास, ब्यापारी ब्यवशायीको समस्या, गोरखाको संभावना लगायतका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।  

प्रकाशित: २७ पुस २०७९ ०९:१० बुधबार

पुष्पकमल दाहाल