राजनीति

'अख्तियार दबाबमा' काउन्सिलर नियुक्ति

काठमाडौं- सरकारले परम्परा मिचेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता कृष्णहरि पुस्करलाई भारतका लागि इकोनोमिक काउन्सिलर नियुक्त गरेको छ। यसअघि अर्थ र वाणिज्य मन्त्रालयमा लामो अनुभव बोकेका सहसचिवमध्ये एक जनालाई काउन्सिलर नियुक्त गरिँदै आएकोमा पुस्करको नियुक्ति त्यो मान्यताविपरीत छ।

अर्थ र वाणिज्य मन्त्रालयमा काम गरेको अनुभवै नभएका व्यक्तिलाई केही दिनअघिको मन्त्रिपरिषद् बैठकले काउन्सिलर तोकेको हो।

पुस्करले आइतबार नागरिकसँग कुरा गर्दै चाँडै नै काउन्सिलरको जिम्मेवारी सम्हाल्न भारत जान लागेको बताए। 'अहिले अख्तियारमा बरबुझारथको काम गर्दै छु,' उनले भने 'परिवारलाई समेत लिएर जाने भएकाले केही समय लागेको हो।'

मन्त्रिपरिषद्का एक उच्च अधिकारीका अनुसार अख्तियार निर्देशन आएपछि विगतको परम्परा तोडेरै पुस्करलाई काउन्सिलरमा नियुक्ति दिइएको हो। 'कृष्णहरिले पहिलेदेखि नै महावाणिज्यदूत हुन विभिन्न शक्ति केन्द्र धाउने काम गरेका थिए,' ती अधिकारीले नागरिकसँग भने, 'महावाणिज्यदूत नभएपछि अहिले काउन्सिलरमा नियुक्ति दिइएको छ।'

यसअघि हङकङ, ल्हासा, कोलकाताजस्ता विभिन्न स्थानमा मन्त्रिपरिषद्ले महावाणिज्यदूत नियुक्ति गर्दा अख्तियारले नियुक्तिको आधार माग गरेको थियो। मन्त्रिपरिषद् निर्णयमाथि अख्तियारले समेत हस्तक्षेप गर्न नपाउने कानुनी प्रावधान छ।

विगतका नियुक्तिमा चासो राख्ने अख्तियारले अहिलेको नियुक्तिमा भने कुनै प्रतिक्रिया दिएको छैन।  मन्त्रिपरिषद्ले पहिले यो नियुक्तिलाई गुपचुप राखेको थियो।

यसअघि अर्थ मन्त्रालयमा लामो समय काम गरेका ढुण्डिराज पोखरेलले काउन्सिलरको जिम्मेवारी सम्हाल्दै आएका थिए। उनले उमेर हदका कारण अवकाश पाएपछि उक्त पद खाली थियो।

काउन्सिलरको जिम्मेवारी मुलुकका लागि आर्थिक पक्षका विविध मुद्दामा सरकारलाई सुझाव दिने एवम् निर्णय गर्ने हो। वैदेशिक व्यापार र लगानीलाई कसरी देशको हितमा ल्याउने भन्ने जिम्मेवारी पनि काउन्सिलरको हो। अर्थ मन्त्रालयका अधिकारी अर्थतन्त्रका आयाम  र व्यापार नबुझेको व्यक्ति काउन्सिलर बने मुलुककै लागि दुर्भाग्य हुने बताउँछन्।

'सामाजिक पढेको व्यक्तिलाई गणित पढाउने जिम्मेवारी दिए कस्तो होला?,' ती अधिकारीले भने, 'विषयवस्तु नबुझेको व्यक्तिलाई पठाएपछि भारतीय अधिकारीसँग हुने विभिन्न वार्ता र छलफलमा अडान राख्न सकिँदैन।' काउन्सिलरले आर्थिक पक्षमा राजदूतलाई समेत सुझाव र सहयोग दिनुपर्ने हुन्छ।

      

 

 

 

प्रकाशित: १७ श्रावण २०७३ ०१:५४ सोमबार

अख्तियार दबाबमा काउन्सिलर नियुक्ति