राजनीति

गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारीको दाबी, आजै सपथ लिने

नेकपा एमालेका खगराज अधिकारीले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेतासमेत रहेका अधिकारीले सोमबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।

प्रदेश प्रमुख गुरुङले नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए। प्रदेश प्रमुखले दिएको समयसीमा सोमबार अपराह्न ४ बजेको दिएका थिए। उनले सो समय सकिन करीब डेढ घण्टा बाँकी छँदा दाबी पेश गरे। एमाले, माओवादी, राप्रपा र स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका राजिव गुरुङ (दीपक मनाङे)को समर्थनमा अधिकारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । सबैगरि ३३ जना प्रदेश सांसदको समर्थन अधिकारीले लिएका छन्। 

अधिकारीले नेकपा माओवादी केन्द्र गण्डकीका संसदीय दलका नेता हरिबहादुर चुमानको प्रस्ताव र राप्रपाका पञ्चराम तमुको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरे। प्रदेश प्रमुख गुरुङले आजै अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नेछन्। त्यसलगत्तै सपथको समय तोक्ने तयारी रहेको प्रदेश प्रमुखको निजी सचिवालयले जनाएको छ। 

मुख्यमन्त्रीमा दाबी पेश गरेका अधिकारी नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता हुन्। पूर्व गृह तथा स्वास्थ्यमन्त्रीसमेत रहेका उनी नेकपा एमालेका संगठन विभाग प्रमुख पनि हुन्। ६० सदस्यीय गण्डकी प्रदेश सभामा नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका ८ र राप्रपाका २ सांसदसहित बहुमत छ। प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको २७ सांसद छन्। ठूलो दल भईकनपनि कांग्रेस प्रतिपक्षी दल बनेको छ।

प्रकाशित: २५ पुस २०७९ ०९:१९ सोमबार

गण्डकी प्रदेश मुख्यमन्त्री