राजनीति

संसद हाम्रो परीक्षा केन्द्र: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले संसदलाई परीक्षा केन्द्रको रुपमा लिनुपर्ने बताएका छन्।

प्रधानमन्त्री दाहालले सोमबारबाट सुरु भएको प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै जनताहरुले सुशासन र समृद्धिको सर्तसहित निर्वाचित गराएको र त्यसलाई सार्थक बनाउन संसदलाई परीक्षा केन्द्रको रुपमा लिनुपर्ने बताएका हुन्।

उनले जनतासँग निर्वाचनको बेला गरिएका सुशासन र समृद्धिका साझा प्रतिवद्धताहरु पूरा गर्न सबै राजनीतिक दलहरुलाई एकठाउँमा उभिन आह्वान गरेका छन्।

राजनीतिक दलहरु सामू जनताको अपेक्षा, गुनासो, चासो र चिन्तालाई तत्काल सम्बोधन गर्दै अघि बढनुको विकल्प नभएको पनि उनले स्पष्ट पारे।

प्रधानमन्त्री दाहालले जनताको निरन्तर निगरानीमा रहेको तथ्यलाई नभुली जनताको अपेक्षा पूरा गर्न नयाँ संसद सफल हुने विश्वास समेत व्यक्त गरे। 

प्रधानमन्त्री दाहालले प्रतिक्रियाको नभई क्रियाको राजनीति गरेर मात्रै आफूहरुले मुलुकमा देखा परेका समस्याहरुको समाधानको सुत्र खोजी गर्न सकिने पनि स्मरण गराए।

उनले भने, ‘हामी भखैरै जननिर्वाचित भएका छौं। जनताको हामी माथिको समर्थन सशर्त छ भन्ने मलाई लाग्दछ। निःशर्त छैन। हामी सुशासन दिन सक्छौं या सक्दैनौं। जनताको जीवनमा सार्थक परिर्वतन  ल्याउन सक्छौं वा सक्दैनौ? यो संसद हाम्रो परीक्षाको केन्द्र पनि हो।’

दाहालले प्रतिनिधिसभामा नयाँ दलहरुको प्रवेशलाई आफूले लोकतन्त्र र नागरिक सम्प्रभूताको जीतको रुपमा लिएको र संसदले त्यसलाई नयाँ पूँजीको रुपमा लिनुपर्ने बताए। उनले राजनीतिलाई भावना र उत्तेजनाभन्दा पर आर्थिक समृद्धिको महाअभियानमा केन्द्रित गर्न पनि सबै राजनीतिक दलहरुलाई आग्रह गरे। 

प्रकाशित: २५ पुस २०७९ ०८:३४ सोमबार

प्रधानमन्त्री पुष्पकमल दाहाल