राजनीति

गण्डकी प्रदेशः मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारीको दाबी

खगराज अधिकारी

नेकपा एमालेका खगराज अधिकारीले आज गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्दैछन्। नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेतासमेत रहेका अधिकारीले सोमबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेका हुन्।

प्रदेश प्रमुख गुरुङले नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए। प्रदेश प्रमुखले दिएको समयसीमा सोमबार अपराह्न ४ बजेको दिएका छन्। त्यसअघि नै अधिकारी मुख्यमन्त्रीमा दाबी पेश गर्न माओवादी र राप्रपाका सांसदहरुलाई साथमा लिएर पुग्ने अधिकारी निकटहरु बताउँछन्। 

मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेका अधिकारी नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता हुन्। उनी पूर्व गृह तथा स्वास्थ्यमन्त्री पनि हुन्। 

६० सदस्यीय गण्डकी प्रदेश सभामा नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका ८ र राप्रपाका २ सांसदसहित बहुमत छ। प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको २७ सांसद छन् भने स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका एक सांसद छन्।

प्रकाशित: २५ पुस २०७९ ०८:२९ सोमबार

गण्डकी प्रदेश मुख्यमन्त्री