राजनीति

प्रतिनिधि सभाको पहिलो बैठकमा उपस्थीत हुन काँग्रेस संसदीय दलको निर्देशन

नेपाली काँग्रेसको संसदीय दलको बैठकले प्रतिनिधि सभाको पहिलो बैठकमा सहभागी हुनका लागि सांसदहरुलाई निर्देशन दिएको छ।  

शनिवार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले पार्टीका सांसदहरुलाई प्रतिनिधि सभाको पहिलो बैठकमा उपस्थित हुन तयारीका लागि निर्देशन दिएको हो। बैठकले प्रतिनिधि सभाको पहिलो बैठकमा केके हुन्छन् र सांसदहरुले के गर्ने भन्ने बारेमा पनि सांसदहरुलाई जानकारी गराएको नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए।

 पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने प्रक्रिया रहेकाले विश्वासको मत लिने प्रक्रियामा पार्टीका सांसदहरुले केके गर्ने भन्नेबारेमा पनि जानकारी गराइएको उनले बताए। पार्टीको संसदीय दलको अर्को बैठक पुस २६ गते बिहान ९ बजे बस्ने पनि जानकारी सचेतक लेखकले दिए। प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्नेबारेमा भने २६ गतेको संसदीय दलको बैठकले निर्णय गर्ने उनले बताए।  

लेखकले सिंगो पार्टी एकवद्ध भएर प्रतिनिधि सभामा सशक्त भुमिका निर्वाह गर्ने बताए। बैठकले नेपाली काँग्रेसलाई सबैभन्दा ठूलो राजनीतिक दल बनाएकोमा जनतालाई धन्यवाद दिने निर्णय गरेको छ भने संविधान सभा सदस्य प्रतिनिधि सभाको पूर्व सांसद झुलबहादुर आले र मैयादेवी श्रेष्ठप्रति शोक प्रश्ताव पारित गर्ने निर्णय गरेको छ।  

प्रकाशित: २३ पुस २०७९ ११:४६ शनिबार