राजनीति

प्रदेश संसदीय दलमा देउवा पक्षका नेता

फाइल तस्बिर।

प्रधानमन्त्रीसहितका प्रमुख पद गुम्ने भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नैतिकताका आधारमा सभापति र संसदीय दलको नेतासमेत छाड्नुपर्ने इतर पक्षका नेताहरूले आवाज उठाउँदै आएका छन्। सभापति देउवाको सत्तालिप्साका कारण संघ र प्रदेशमा पार्टी सत्ता विमुख हुनपुगेको आरोप खेपिरहे पनि उनै देउवा पार्टीभित्र भने थप शक्तिशाली बन्दै गएका छन्। प्रतिनिधिसभा संसदीय दलको नेतामा भारी मतसहित देउवा निर्वाचित भएका छन्। त्यति मात्र होइन सातमध्ये छ वटा प्रदेशको संसदीय दलको नेता पनि उनीनिकट नेताहरू नै निर्वाचित भएका छन्।  

बुधबार सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत चयन भएसँगै कांग्रेसले सातवटै प्रदेशमा संसदीय दलको नेता चयन गरेको छ। संस्थापनइतर नेताकारूपमा परिचय बनाएका शाह सर्वसम्मतरूपमा दलको नेतामा चयन भएका हुन्। संस्थापन पक्षका नेताहरू बहादुरसिंह थापा, दिवानसिंह विष्ट, मेघराज खड्का, प्रकाश देउवासहितका आकांक्षी थिए। तर, सभापति देउवाकै आग्रहमा शाहलाई दलको नेता बनाइएको निकटहरूले जनाएका छन्।  

त्यसबाहेक अन्य छ वटै प्रदेशका संसदीय दलका नेता संस्थापन इतरका छन्। प्रदेश १ मा उद्धव थापा, मधेशमा कृष्णप्रसाद यादव, वागमती प्रदेशमा बहादुरसिंह लामा, गण्डकीमा सुरेन्द्र पाण्डे, लुम्बिनीमा डिल्ली बहादुर चौधरी र कर्णालीमा जीवनबहादुर शाही प्रदेश संसदीय दलको नेता बनेका छन्। प्रदेश १ को संसदीय दलको नेतामा तीन जनाको उम्मेदवारी थियो। नेता कृष्णप्रसाद सिटौलानिकट रहेर देउवा समूहबाट प्रदेश सभापतिसमेत रहेका थापा दलको नेतामा निर्वाचित भएका हुन्। थापाले १८ मत ल्याउँदा इतर पक्षका केदार कार्की ९ मत पाए। देउवा पक्षकै नेता अमृत अर्याल २ मतमा समेटिएका थिए।  

मधेश प्रदेशमा पनि प्रदेश सभापति यादव नै प्रदेश संसदीय दलको नेतामा चयन भए। यादवले १८ मत पाउँदा रामसरोज यादवले ४ मत ल्याएका थिए। वागमती प्रदेशमा भने प्रदेश सभापति इन्द्र बहादुर बानियाँ पराजित भए। देउवा निकटकै नेता बहादुरसिंह लामालाई इतर पक्षका नेताहरूको साथ पाउँदा संसदीय दलमा लामा चुनिएका हुन्। लामाले २१ र बानियाँले १६ मत पाएका थिए।  

गण्डकी प्रदेशमा केन्द्रीय सदस्य पाण्डे दलको नेता निर्वाचित भए। पाण्डेले १८ मत पाउँदा प्रतिस्पर्धी नेता भोजराज अर्यालले ८ मत पाएका थिए। लुम्बिनी प्रदेशमा चौधरी र कर्णाली प्रदेशमा शाही सर्वसहमतिबाट दलको नेता चयन भएका हुन्।

प्रकाशित: २१ पुस २०७९ ०१:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App