राजनीति

अविश्वासको प्रस्ताव पारित भए प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुहुन्छ: भट्टराई

काठमाडौं–नेकपा एमालेका सचिव योगेश भट्टराईले अविश्वासको प्रस्ताव पारित भएपछि प्रधानमन्त्रीले राजीनामा दिने बताएका छन्।
बुधबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै सचिव भट्टराईले भने, ‘अविश्वासको प्रस्ताव पारित भए प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुहुन्छ, यसमा कुनै दुईमत छैन्।’ उनले संसदीय व्यवस्थामा बहुमत पुर्याउनेले सरकार बनाउने कुरा नौलो नभएको टिप्पणी गरे।
भट्टराईले नियमित संसद चलिरहेकोले पहिला विधेयकमाथिको छलफल अगाडि बढाउनु पर्ने दाबी गरे। उनले थपे, ‘नियमित संसद चलिरहेको वेला नियमित एजेण्डालाई नै अगाडि बढाउनुपर्छ, यो विषय नटुँग्याएसम्म अर्को विषयमा जानै सकिँदैन्।’ उनले विधेयक पारित गर्ने गाडी क्युमा भएकाले अर्को गाडी अघि बढाए समस्या उत्पन्न हुने भन्दै व्यंग्य गरे।

उनले थपे, ‘विधेयक टुँगो लागिसकेपछि, हामी अविश्वासको प्रस्तावमाथि छलफल गर्न तयार छौं, एमाले लोकतान्त्रिक प्रकृयाबाट आएको नतिजा मान्न तयार छ, अविश्वासको प्रस्ताव पारित भए अर्को सरकार बन्छ, एमाले प्रतिपक्षमा बसेर रचनात्मक भूमिका निर्वाह गर्छ।’ उनले एमाले मुलुक र जनताको लागि बाधक नबन्ने स्पष्ट पारे।

भट्टराईले सभामुख पद संवैधानिक भएको उल्लेख गर्दै भने, ‘सभामुखले तटस्थ भूमिका निर्वाह गर्नुपर्छ, राजनीतिक दलहरुवीच उत्पन्न द्वन्द्वलाई सहज बनाउने भूमिका खेल्नुपर्छ, व्यवस्थापकीय संसदलाई दलहरुवीचको द्वन्द्वको खेलमैदान बनाउने काम गर्नुहुँदैन, त्यस्तो भूमिका नहोस्।’
भट्टराईले अहिलेको अवस्थामा सरकार परिवर्तनको कुरा बेमौसमी भएको टिप्पणी गरे। उनले थपे, ‘सरकार परिवर्तनको जुन खेल भइरहेको छ, यो बेमौसमी खेल हो, यसको औचित्य नै थिएन।’ मुलुकमा यतिवेला संविधान कार्यान्वयन लगायत महत्पूर्ण एजेण्डामा सहमतीय राजनीतिको आवश्यकत्ता रहेको उल्लेख गर्दै प्रमुख दलहरुवीच कुनै न कुनै रुपमा सहमति कायमै राख्नुपर्ने तर्क गरे ।

 

प्रकाशित: ५ श्रावण २०७३ १०:४३ बुधबार

अविश्वासको प्रस्ताव पारित भए प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुहुन्छ भट्टराई