राजनीति

प्रदेश खारेजीका लागि मुख्यमन्त्रीमा दावी: नेता थापा

तस्बिर: राप्रपा संसदीय दलका नेता उद्धव थापा।

राष्ट्रिय प्रजातन्त्र पार्टी बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले प्रदेश खारेजीका लागि मुख्यमन्त्रीमा दावी गरेको बताएका छन्।

सोमबार बागमती प्रदेशसभा बैठक अघि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले प्रदेश संरचना खारेज हुनुपर्ने धारणा राखेका हुन्। राप्रपाले प्रदेश सरकार गठन भएदेखि नै यो संरचना खारेज हुनुपर्ने माग गर्दै आएको छ। १३ जना प्रदेश सांसद् रहेको राप्रपाको साथ विना सत्तारुढ गठबन्धनको सरकार नबन्ने अवस्था रहेको छ। यही कारण पनि राप्रपाले बागमती प्रदेश सरकारको नेतृत्वमा दावी प्रस्तुत गर्दै आएको छ। केन्द्रमा समीकरणमा परिवर्तन भएसँगै राप्रपाले मुख्यमन्त्रीमा दावी गरेको हो।

राप्रपाले चुनावी घोषणा पत्रमा समेत प्रदेश संरचनाको खारेजी एजेण्डा राखेको छ। ‘बागमती प्रदेशको मुख्यमन्त्रीमा हाम्रो पार्टीको दावी छ हामी कुनैपनि हालतमा मुख्यमन्त्री छोड्दैनौं’, राप्रपा संसदीय दलका नेता थापाले भने, ‘मुख्यमन्त्री बनेर प्रदेश खारेज गर्छौं, संघीयता कुनैपनि हालतमा खारेज हुनुपर्छ, हामी गर्छौ।’ अघिल्लो कार्यकाल पनि राप्रपाले प्रतिपक्षमा रहेर प्रदेशिक संरचना खारेजीको माग गर्दै आएको थियो। संघीयता खारेजीको मागमा राप्रपा अडिग रहेको थापाले दोहो¥याए।

परिवर्तित राजनीतिक परिस्थितिलाई सदुपयोग गर्नका लागि बागमती प्रदेशमा राप्रपाको मुख्यमन्त्रीमा दावी रहेको उनले बताए। प्रदेश सरकारमा जानुको मुख्य एजेण्डा प्रदेश संरचना खारेजी नै भएको उनले बताए। ११० सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसदको समर्थन आवश्यक रहन्छ। बागमती प्रदेशमा कुनै पनि दलको प्रस्ट बहुमत नभएकाले तालमेल गरेर सरकार निर्माण गर्नुपर्ने बाध्यता रहेको छ। सत्तारुढ गठबन्धनको सरकार निर्माणका लागि राप्रपा निर्णायक शक्तिको रुपमा देखिएको छ। सत्ता गठबन्धन दलमा रहेको नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रको २१ र राप्रपाको १३ सांसद रहेको छ। यी तीन दलको बीचमा सहमति हुँदा सत्तारुढ गठबन्धनको सहजै सरकार गठन हुने अवस्था रहेको छ।

राप्रपपाले समर्थन नगरेको खण्डमा एमाले र माओवादीसँग ४८ जना मात्रै प्रदेश सांसद् रहन्छ। यता राप्रपासँगको तालमेलमा सरकार निर्माणको दोस्रो विकल्पमा कांग्रेस र एकीकृत समाजवादी मिलेर पनि आवश्यक बहुमत पुग्न सक्छ। सरकार निर्माणका लागि आवश्यक ५६ जनामध्ये कांग्रेससँग ३७ सांसद छ। कांग्रेसलाई १९ जना सांसदको समर्थन आवश्यक रहन्छ।

यदी कांग्रेस, राप्रपा र नेकपा (एकीकृत समाजवादी) मिलेको खण्डमा सांसदको संख्या ५७ हुन्छ। राप्रपा निर्णायक शक्तिको रुपमा रहेकोले सत्तारुढ गठबन्धनले राप्रपालाई नै मुख्यमन्त्री दिनसक्ने चर्चा पनि सुरु भएको छ। ११० सदस्यीय बागमती प्रदेशमा कांग्रेसको ३७, एमालेको २७, राप्रपाको १३, माओवादीको २१, नेकपा एसको ७, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद् रहेका छन्।  

प्रकाशित: १८ पुस २०७९ १२:५७ सोमबार

उद्धव थापा