राजनीति

एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा लीला गिरी चयन

नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा लीला गिरी चयन भएका छन्।

आइतबार दाङको देउखुरीमा बसेको एमाले प्रदेशसभा सदस्यहरूको बैठकले दलको नेतामा पार्टीका पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश सह इन्चार्ज लीला गिरिलाई सर्वसम्मत रुपमा चयन गरेको हो।

गिरी रुपन्देही क्षेत्र नं.२(क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन। गिरी यसअघि एमाले नेतृत्वको प्रदेश सरकारका पालमा वन, वातावरण तथा उद्योग मन्त्री थिए।

दलको उपनेतामा चेतनारायण आर्चायलाइ चयन गरिएको छ। आर्चाय अर्घाखाँची जिल्लाको क्षेत्र नं. १(ख) बाट प्रदेश  सभामा निर्वाचित भएका हुन। आर्चाय प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री भएका थिए।

आइतबार लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा प्रदेशसभा सदस्यहरूको शपथ ग्रहण कार्यक्रम भएको थियो। शपथ ग्रहण लगत्तै बसेको बैठकले गिरी र आर्चायलाइ सर्वसम्मत रुपमा दलको नेता र उपनेता चयन गरिएको एमाले लुम्बिनी प्रदेश समिटिका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले जानकारी दिए।

पार्टीको केन्द्रीय नेतृत्वकै निर्णयलाई आइतबारको बैठकले अनुमोदन गरेको बताइएको छ। दलको नेता चयनकालागि बसेको बैठकमा पार्टी महासचिव शंकर पोखरेल र लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माको उपस्थिति रहेको सांसदहरूले बताएका छन्।

लुम्बिनीमा एमालेका २९ सांसद छन्। यो प्रदेश माओवादीको भागमा परेको भनिए पनि एमाले महासचिव शंकर पोखरेलले भने ठुलो दल भएकाले प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने प्रतिक्रिया आइतबार सञ्चारकर्मीहरूलाई दिएका छन्।

पोखरेलले भने जस्तै मुख्यमन्त्री एमालेको भागमा परे गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्ने छन्।

प्रकाशित: १७ पुस २०७९ १६:२९ आइतबार