राजनीति

अविश्वासको प्रस्ताव फेल हुन्छः मन्त्री पोखरेल

काठमाडौं–पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले काँग्रेस र नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री विरुद्ध पेश गरेको अविश्वासको प्रस्ताव फेल हुने दाबी गरेका छन्।
बिहीबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पोखरेलले भने, ‘आग्रह, पूर्वाग्रह राखेर वर्तमान सरकार ढाल्न अँध्यारो कोठामा अर्काले लेखिदिएको स्क्रिप्ट बोेकेर साथीहरु नाँचीरहनुभएको छ, अविश्वाको प्रस्ताव फेल हुन्छ, यही सरकार अघि बढ्छ।’ मन्त्री पोखरेलले काँग्रेस–नेकपा माओवादी केन्द्रका नेताहरु विदेशीको एजेण्डा बोकेर भरिया बनेको आरोप समेत लगाए।

साक्षात्कारमा उनले चीनसँगको सम्झौता कार्यान्वयन हुन नदिने षड्यन्त्रसहित अविश्वासको प्रस्ताव पेश भएको दाबी गरे। उनले थपे, ‘सरकारले जनताको पक्षमा दीर्घकालीन हित हुने काम गरेकै कारण हटाउनुपर्ने कारण के हो?, राष्ट्र र राष्ट्रियताको मुद्दा बोकेकै कारण हटाउनुपर्ने, यो गम्भिर विषय हो, यसको मूल्यांकन जनताले गर्नेछन् ।’

एमालेको नेतृत्वको सरकारले मुलुकको हित हुने र लोकप्रिय काम गरेको देखेर जनताबाट नाँगिने डरले काँग्रेस र माओवादीले यो सरकारको विकल्प खोजेको उनको आरोप छ ।

उनले वर्तमान सरकार अल्पमतमा परेको भन्ने टिप्पणीको खण्डन गर्दै भने,‘अल्पमतमा परेको भए किन उहाँहरुले अविश्वासको प्रस्ताव पेश गर्नुभयो ?’

 

प्रकाशित: ३० असार २०७३ १०:४३ बिहीबार

अविश्वासको प्रस्ताव फेल हुन्छः मन्त्री पोखरेल