राजनीति

विदेशबाट ल्याएको मोबाइलमा कडाइ नगर्न प्रधानमन्त्री दाहालको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशबाट मोबाइल फोन ल्याउँदा नेपालमा दर्ता गर्नुपर्ने प्रावधान तत्काल लागू नगर्न निर्देशन दिएका छन्।

प्रधानमन्त्री दाहालले आज उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाली श्रमिकले विदेशबाट फर्कंदा ल्याउन पाउने मोबाइलका सम्बन्धमा गरिएको यसअघिको सरकारको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका हुन्। 

प्रधानमन्त्रीले नयाँ लागू गर्न खोजिएको प्रावधानमा कडाइ नगर्न र पुरानै चलिरहेको प्रक्रियामा रहनै निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।

विदेशबाट एकथान मोबाइल ल्याउँदा सरकारले १८ प्रतिशतसम्म कर लिन लागेको भन्दै वैदेशिक रोजगारीमा रहेका नेपालीले विरोध गरिरहेका छन्।

नेपाल दूरसञ्चार प्राधिकरणले भन्सार छलीको मोबाइल नियन्त्रण गर्न भन्दै आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडिएमएस) कार्यान्वयन गर्ने समयसीमा तय गरेको थियो।

सो व्यवस्था लागू भएपछि विदेशबाट फर्किने क्रममा ल्याइएको उपहारका रुपमा एकभन्दा बढी मोबाइल फोन ल्याइएमा १८ प्रतिशतसम्म भन्सार लाग्ने र तेस्रो मोबाइल ल्याएमा भन्सार विभागले जफत गरिनेछ।  

प्रकाशित: १५ पुस २०७९ ०७:०४ शुक्रबार

प्रधानमन्त्री पुष्पकमल दाहाल