राजनीति

माओवादी नेतृत्वमा सरकार गठन गर्ने कांग्रेसको निर्णय

काठमाडौं–नेपाली कांग्रेसले नयाँ सरकार गठनकालागि माओवादी केनद्रलाई समर्थन गर्ने निर्णय गरेको छ। बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले माओवादी केन्द्रको नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए।

बैठकले माओवादी केन्द्रसँग भएको सात बुँदे सहमति अनुमोदन गर्दै वर्तमान सरकार विरुद्ध अविश्वासको प्रस्ताव गर्दा गर्नेसमेत निर्णय गरेको नेता पौडेलले जानकारी दिए।
बैठकको सुरुमै सभापति शेरबहादुर देउवाले माओवादीसँग भएको सात बुँदे सहमति पढेर सुनाएका थिए। उनले समय कम भएकाले सात बुँदे सहमतिलाई अनुमोदन गर्न आग्रह गरेका थिए।

बैठकमा सरकार परिवर्तन गर्ने जस्तो महत्वपूर्ण निर्णय पार्टी पदाधिकारीलाई थाहा नै नदिइ गरेको भन्दै नेता प्रकाशमान सिंहले आपत्ति जनाएका थिए। जवाफमा साभपति देउवाले विगतमा सरकार परिवर्तन हुँदा कसलाई मन्त्री बनाउने भन्ने कुरा कृष्ण सिटौलामाफर्त थाहा हुने गरेको भन्दै बल्ल कांग्रेसमा प्रजातन्त्र आएक छ भन्दै व्यंग गरेका थिए।   

बैठकमा नेता बिमलेन्द्र निधीले माअाेवादीसँग दुइवटा सम्झाैता भएकाे बैठकमा जानकारी गराएका थिए। उनले एउटा गाेप्य र अर्काे सात बुँदे सम्झाैता गरेकाे बैठकमा जानकारी गराएका थिए। जसअनुसार स्थानीय निकायकाे निर्वाचनसम्म माअाेवादीले सरकारकाे नेतृत्व गर्ने र बाँकी दुइ वटा निर्वाचन कांग्रेस नेतृत्वमा गर्ने सहमति भएकाे निधीले बैठकमा जानकारी गराएका थिए।

प्रकाशित: २९ असार २०७३ ०५:१४ बुधबार

माओवादी नेतृत्वमा सरकार गठन गर्ने कांग्रेसको निर्णय