राजनीति

त्रियुगा १६ नं. वडा नयाँ भवनमा

वडा भवनको उद्घाटन गर्दै त्रियुगा नगरप्रमुख बसन्ते बस्नेत। तस्विरः महेश्वर

त्रियुगा नगरपालिकाका वडा नं. १६ ले बिहीबारदेखि नयाँ भवनबाट कार्य सञ्चालन गर्न थालेको छ। सदरमुकामको नगरपालिका भए पनि गाईघाटदेखि झण्डै २५ किलोमिटर पश्चिम बिकट पहाडी भेगमा पर्ने सो वडाको केन्द्रस्थल चिलाउनेमा नवनिर्मित भवनबाट भर्खंर कार्य सञ्चालन सुरु भएको हो।  

नवनिर्मित भवनको नगरप्रमुख बसन्तकुमार बस्नेतले एक कार्यक्रमका बीच बिहीबार दिउँसो उद्घाटन गरे। साविक वडा कार्यालय परिसरमै निर्मित उक्त भवन ३ वर्षअघि नै निर्माण कार्य सुरु भएको थियो। जिल्ला समन्वय समितिबाट १५ लाख र नगरपालिका गरी  ६० लाख बजेटको लागत इस्टीमेत भए पनि निर्माण व्यवसायीबीच प्रतिस्पर्धा हुँदा ३७ लाखमा ठेक्का लागेको वडा सचिव महेश खनालले बताए।  

उनका अनुसार ३७ लाखमा ठेकक सकार भए पनि भवनको प्राविधिक मूल्याङ्कन अनुसार २९ लाख रुपैँया मात्र भुक्तानी भएको हो। गलान इन्प्राटेक सर्भेईङ एण्ड इन्जिनियरिङ कन्स्ट्रक्सन प्रालिको ठेक्कामा निर्माण सम्पन्न भएको एकतले भवनमा वडाध्यक्ष कार्यकक्ष, सचिव, प्राविधिक, वडा सदस्यहरुका लागि बेग्लाबेग्लै कोठा तथा शौचालयसहित ५ कोठा रहेको सचिव खनालले बताए।  

भवन बनेसँगै जनप्रतिनिधि र कर्मचारीलाई कामकाज गर्न तथा सेवाग्राहीलाई सेवा लिन सहज भएको कार्यालयका मुखिया मिलन राईले बताए। उनका अनुसार यसअघि साविक पुरानो र साँघुरो गाविस भवनमा बसेर काम गर्नु पर्दाका असहज अव सधाका लागि अन्त्य भएको छ।  

नयाँ भवन बने पनि सभाकक्ष र कर्मचारी आवास भने अभै अभाव छ। सो अभाव टार्न भवनमा तला थप्नुपर्ने दलित महिला वडा सदस्य कुन्ता परियारले बताईन्। वडामा धेरै काम हुने र कार्यक्रमहरु गरिरहनु पर्ने हुँदा बैठककक्ष अनिवार्य चाहिने भएकाले तला थप्नुपर्ने परियारले बताईन्।  

भवन उद्घाटन गर्दै मेयर बस्नेतले त्रियुगा जिल्लाको सबभन्दा ठूलो र अगुवा स्थानीयतह भए पनि भौगोलिक कारणले विकास निर्माणमा अझै पछि रहेको बताए। भौगोलिक कठिनाईका कारण बिकट र विकास निर्माणको तुलनामा पिछडिएका वडाहरुलाई विशेष ध्यान दिएर अघि बढिरहेको उनले बताए। १६ नं. वडाध्यक्ष गतिसिल र सक्षम भएकाले अन्य वडाको तुलनामा विकास निर्माणमा धेरै अघि रहेको भन्दै उनले भवन पनि सबभनदा पहिले १६ नं. मै बनाउन सफल भएको बताए। मेयर बस्नेतले आउँदो २ वर्षभित्र बाँकी सबै वडामा भवन बनाईसक्ने योजना लिएर आफु अघि बढिरहेको बताए। भर्खरै निर्मित भवन पर्याप्त नभएकाले आगामी वर्ष तला थपेर सभाहल र अन्य प्रयोगनका लागि आवश्यक बजेट छु्ट्याउन बजेट व्यवस्था गर्ने आश्वासन दिए। नगरबासीलाई सक्षम, सुखी र आत्मनिर्भर बनाउन आफुलगायत जनप्रतिनिधि र कर्मचारी लागिरहेको भन्दै मेयर बस्नेतले त्यसका लागि तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्ने बताए।  

 कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले बिकट र दुर्गम वडा भए पनि सक्षम जनप्रतिनिधि भएकाले १६ नं. वडा अन्यको तुलनामा अगाडि रहेको बताए। उनले वडाबासीको समस्या छिटोछरितो र सहज तरिकाले समाधान गर्न वडा कार्यालय र कर्मचारी संयन्त्र चुस्त हुनुपर्ने बताए।  

वडाध्यक्ष मानबहादुर राईले जिल्ला समन्वय समिति र नगरपालिकाको सहयोगबाट नयाँ भवन बनाउन सफल भएपछि वडाबासीको सेवा प्रवाहमा सहज हुने अपेक्षा गरे। नगरपालिका भए पनि भौगोलिक कठिनाईका कारण बिकट र विकास निर्माणमा पछि रहेको वडामा चुनावी घोषणापत्रमा प्रतिबद्धता जनाए बमोजिम रातदिन लागेर काम गरिरहेको बताए। विद्युत, सडक, खानेपानी र सञ्चारको विकासहरु एकपछि अर्को काम भईरहेको भन्दै वडाध्यक्ष राईले सकेसम्म बिकट र दुर्गम वडा होईन भन्ने प्रभाव पार्ने अभियानमा रहेको बताए।  

वडाध्यक्ष राईले वडाका अधिकांश ठाउँमा विद्युत पुगिसकेको, खानेपानी सडक र शिक्षा प्राथमिक स्वास्थ्य सेवा सबै वडाबासीले उपभोग गर्न पाउने वातावरण निर्माण गरिसकेको बताए। नयाँ भवनमा एक तला थपेर सभाकक्ष बनाउन यसै आर्थिक वर्ष आवश्यक बजेट व्यवस्था गर्न वडाध्यक्ष राईले मेयर बस्नेत र प्रमुख प्रशासकीय अधिकृत वनसमक्ष कार्यक्रममार्पmत नै माग गरे। सबभन्दा ठूलो समस्या वडादेखि नगरपालिकासम्म वर्षभरी चल्ने सडक निर्माण मुख्य चुनौति भएको भन्दै त्यसका लागि आवश्यक बजेट व्यवस्था गरेर १२ महिनै यातायात चल्ने सडक बनाउन नगरप्रमुखसँग उनले आग्रह गरे।  

प्रकाशित: १४ पुस २०७९ १४:०२ बिहीबार

त्रियुगा नगरपालिकाका