राजनीति

गण्डकी प्रदेश सभाको अधिवेशन पुस १८ गतेदेखि

गण्डकी प्रदेश सभाको अधिवेशन पुस १८ गतेदेखि आह्वान भएको छ। गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस १८ गतेदेखि प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन्।

प्रदेश प्रमुख गुरुङको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको अधिवेशन संवत् २०७९ साल पुस १८ गते सोमबार दिनको ३ बजेदेखि प्रदेश सभा भवन नदीपुरमा आरम्भ हुने गरी आह्वान गर्नुभएको ब्यहोरा सबैको जानकारीका लागि अनुरोध छ।'

अधिवेशन अघि नवनिर्वाचित सांसदहरूलाई शपथ खुवाउने तयारी छ। प्रदेश प्रमुख गुरुङले पुस १३ गते बुधबार गण्डकी प्रदेश सभा सदस्य मध्ये ज्येष्ठ सदस्य पर्वत १ को (१) बाट निर्वाचित मित्रलाल बस्याललाई शपथ खुवाउने तयारी भएको हो। त्यस्तै, पुस १४ गते प्रत्यक्ष निर्वाचित तथा समानुपातिक प्रणालीबाट प्रदेश सभा सदस्य बनेका सबैलाई शपथ खुवाईनेपनि प्रदेश प्रमुखको सचिवालयले जनाएको छ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा माओवादी केन्द्रको ८, राप्रपाको २ र नेकपा एकीकृत समाजवादीको १ सांसद रहेको छ। गण्डकीमा हालै बनेको गठबन्धनको बहुमत रहेको छ। एमालेको २२, माओवादीको ८ र राप्रपाको २ सांसद रहेकाले यहाँ सरकार बनाउन सहजै बहुमत पुग्छ।

प्रकाशित: १२ पुस २०७९ १२:१२ मंगलबार