राजनीति

प्रहरी चाैकी स्थापनाका लागि जनशक्ति अावशयकः गृहमन्त्री

काठमाडौँ–  गृहमन्त्री शक्तिबहादुर बस्नेतले मुलुक सङ्घीय प्रणालीमा गइसकेको अवस्थामा जनतालाई स्थानीय तहमा एकीकृत सेवा पुर्याउन इलाका प्रशासन कार्यालय विस्तारको प्रयास भइरहेको बताएका छन्।

विनियोजन विधेयक–२०७३ अन्तर्गत गृहमन्त्रालयमाथिको शीर्षकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले सांसदहरुको सुझावलाई दृष्टिगत गरी साधन स्रोतले भ्याएसम्म इलाका प्रशासन कार्यालय विस्तार गरेर लैजान सरकार दृढ रहेको उल्लेख गरे।

जिल्ला प्रशासनले माग गरेर पठाएको प्रहरी चौकीको स्थापना र स्तरोन्नति हेर्ने हो भने निकै ठूलो जनशक्तिको आवश्यकता देखिन्छ भन्दै उहाँले आवश्यकतालाई पनि प्राथमिकीकरण गरेर अघि बढिरहेको उल्लेख गरे।

‘‘भौतिक पूर्वाधार र व्यवस्थापन गर्नुपर्ने जनशक्तिसहितको विषयलाई समावेश गरेर कारागार सुधार कार्ययोजना अघि बढाएको जानकारी दिँदै बन्दीको चापलाई ध्यान दिएर स्रोत साधनको समेत व्यवस्था गर्ने प्रयास भइरहेको छ,’’ उनले भने।

गृहमन्त्रालय मातहतका कर्मचारीको सरुवा र पदस्थापनलाई कार्यतालिका बनाएरै अघि बढाउने काम भइरहेको बताउँदै गृहमन्त्रीले जिल्ला प्रशासन कार्यालयलाई प्रविधियुक्त र जनतामैत्री बनाइने दृढता व्यक्त गरे।

सांसदहरुले राखेका जिज्ञासाले गृहमन्त्रालयका लागि थप बजेटको व्यवस्था र कार्यक्रम कार्यान्वयन गर्न सहयोग पुग्ने उनले बताए।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको कार्यक्षेत्रका विषयमा उठेका प्रश्नलाई आवश्यकताका आधारमा व्यवस्थापन गर्न मन्त्रालय दृढ रहेको बताउँदै उनले राष्ट्रिय अनुसन्धान विभागलाई आधुनिक र राष्ट्रिय आवश्यकताअनुरुप बनाउने प्रयास भइरहेको जानकारी दिए। रासस

 

प्रकाशित: २४ असार २०७३ ११:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App