राजनीति

सत्ता गुमे पनि कांग्रेसको शक्ति गुमेको छैन: नेता कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता गुमे पनि कांग्रेसको शक्ति नगुमेको बताएका छन्।

नेता कोइरालाले आज एक विज्ञप्ति जारी गरी सत्ता गुमे पनि कांग्रेसको शक्ति नगुमेको भन्दै पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई निराश नहुन आग्रह गरेका छन्। 'सत्ता गुम्दैमा कांग्रेसको शक्ति गुमेको छैन, हामी थप सशक्त भएर कांग्रेस सशक्तिकरणको अभियानमा जुट्न दृढ सङ्कल्प गछौँ,' उनले भने।

नेता डा. कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सत्तारोहण अपेक्षित नभए पनि बहुमत जुटाएर प्रधानमन्त्री बनेको भन्दै उनलाई बधाई ज्ञापन गरे।

उनले संसद्को तेस्रो शक्ति भए पनि माओवादीले सरकारको नेतृत्व गर्ने अवस्था आउनुलाई अराजनीतिकको संज्ञा दिएका छन्। 'संसद्बाट नयाँ सरकारको नेतृत्वमा प्रचण्डको सत्तारोहण अपेक्षित थिएन', नेता कोइरालाले भनेका छन्।

संविधानको रक्षा र समृद्धिको यात्रा गर्ने भनेर पार्टी सभापति  शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको निरन्तरता किन र कसरी असम्भव भयो भनेर गम्भीर प्रश्न उठेको उनको भनाइ छ। 'हामीले यसको चित्तबुझ्दो जवाफ कांग्रेस कार्यकर्ता, समर्थक, शुभेच्छुकलगायत सबै आम नेपालीमाझ दिनुपर्छ भन्ने मान्यता म राख्छु,' उनले भने।

उनले कांग्रेस अब राष्ट्रिय राजनीतिमा नयाँ भूमिकामा प्रवेश गरेको भन्दै निराश नहुन सबैलाई आग्रह गरेका छन्।

प्रकाशित: ११ पुस २०७९ १६:१३ सोमबार

डा. शेखर कोइराला