राजनीति

परिवार दल अध्यक्षमा पुनः ढकाल

नवनिर्वाचित अध्यक्ष एकनाथ ढकाल।

काठमाडौं- नेपाल परिवार दलको दोस्रो महाधिवेशनले अध्यक्षमा पुनः एकनाथ ढकाललाई निर्वाचित गरेको छ।

मंगलबार सुरु महाधिवेशन अध्यक्षमा ढकाललाई निर्वाचित गर्दै बुधबार सकिएको छ। 'असल परिवारः समृद्ध नेपाल, अग्रपन्थी लोकतन्त्रः हाम्रो मूलमन्त्र' भन्ने नारा तय गरेको महाधिवेशनले नयाँ  नेतृत्वसँगै नयाँ राजनीतिक प्रतिवेदनसमेत पारित गरेको छ।

महासचिव विनोद डाँगी निर्वाचित भएका छन्। ५१ सदस्यीय कार्यसमितिमा अध्यक्ष, महामन्त्री, प्रत्येक प्रदेशबाट एक महिलासहित २/२ जना,  खुला केन्द्रीय सदस्य ७ र दलित, पिछडावर्ग, मुस्लिम, मधेसी र आदिवासी जनजातिको आरक्षित कोटाबाट एक–एक जना गरी २८ सदस्यीय समिति चयन गरेको परिवार दलले जनाएको छ। बाँकी २३ सदस्य अध्यक्षले मनोनीत गरी कार्यसमितिलाई पूर्णता दिने जनाइएको छ। १२ सय प्रतिनिधि सहभागी महाधिवेशनले आन्दोलन, हडताल होइन, विकास आजको आवश्यकता भन्ने नीति पारित गरेको छ।

नवनिर्वाचित अध्यक्ष ढकालले संविधान निर्माणपछिको पहिलो दशकलाई 'आर्थिक क्रान्तिको दशक' घोषण गरेका छन्। उनले तराई मधेशका बासिन्दाको हितलाई ध्यानमा राखी विशेष आर्थिक प्याकेज सञ्चालन गर्ने र परिवर्तनका उपलब्धिलाई संस्थागत गर्दै नया“ संविधानको कार्यान्वयनमा जोड दिने बताए। संविधान गतिशील दस्तावेज भएकाले समयानुकूल र जनआकांक्षा अनुरूप संशोधन गर्दै लैजानुपर्ने उनको भनाइ छ।

प्रकाशित: २३ असार २०७३ ०२:०९ बिहीबार

परिवार दल अध्यक्षमा पुनः ढकाल