राजनीति

कर्णाली प्रदेश: नेपाली कांग्रेसको निर्वाचन कार्यतालिका सार्वजनिक

नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ।

निर्वाचन प्रयोजनका लागि कांग्रेसले प्रदेश महामन्त्री कृष्णबहादुर रोकायको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ। समितिमा कोषाध्यक्ष खगीसरा आचार्य र प्रवक्ता दमनबहादुर शाही सदस्य छन्।

निर्वाचन समितिले शनिबार संसदीय दलको नेता चयनका लागि मतदान गर्ने निर्णय गरेको छ। यसका लागि शुक्रबार बिहान आठ बजे मतदाता नामावली प्रकाशन गर्ने, १० देखि ११ बजेसम्म मतदाता नामावली उपर दाबी–विरोध पेश गर्ने र १२ बजे अन्तिम नामावली प्रशासन गर्ने उल्लेख छ।

निर्वाचन समितिका सदस्य शाहीका अनुसार शुक्रबार दिउँसो साढे तीन बजेदेखि साढे चार बजेसम्म उम्मेदवारका लागि दरखास्त आव्हान गर्ने र सात बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।

एक भन्दा बढी उम्मेदवारले दरखास्त दिएमा शनिबार बिहान नौ बजेदेखि ११ बजेसम्म कांग्रेस संसदीय दलको कार्यालयमा मतदानको समय मिलाइएको उनले जानकारी दिए। ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४ सांसद छन्।

प्रकाशित: ७ पुस २०७९ ०९:२७ बिहीबार