राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति समशेर जबराले पद तथा गाेपनियताकाे सपथ लिएका छन्। सभामुखकाे चयन नहुँदासम्म उनले त्यही भूमिका निर्वाह गर्नेछन्।
ज्येष्ठ सदस्य जबराले राष्ट्रपति निवासमा पुगेर ज्येष्ठ सदस्यको हैसियतले पद तथा गोपनियताको शपथग्रहण गरेका थिए। त्यसलगत्तै बुधवार सिंहदरबारस्थित संसद सचिवालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले सभामुखको भुमिका तटस्थ र स्पष्ट हुनुपर्ने बताए। उनले सभामुखकाे निर्वाचन नहुँदासम्मका लागि जेष्ठ सदस्यको हैसियतमा सभामुखकाे भुमिकालाई निर्वाह गर्नेछन्।
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य जबराले देशका लागि राम्रो काम गर्न सबै राजनीतिक दलहरुबीच समन्वयात्मक भुमिका निर्वाह गर्ने बताए। उनले सदनको पवित्र प्रजातान्त्रिक भावना र बहुदलीय स्वरुपलाई अघि बढाउने काम आफूले गर्ने प्रतिवद्धता जनाए।
उनले भने, ‘सभामुखको भुमिका स्पष्ट छ। तटस्थ हुनुपर्छ। देशको भलोको लागि सबैको बीचमा समन्वयात्मक भुमिका निभाउनु पर्नेछ। सबैसँग समन्वय गरेर अघि बढ्नेछु। सदनको पवित्र प्रजातान्त्रिक भावना र बहुदलीय स्वरुपलाई अघि बढाउने काम गर्नेछु। केही दिनका लागि भएपनि मुलुकको अभिभावकको रुपमा देशलाई अघि बढाउन पहल गर्नेछु।’
प्रकाशित: ६ पुस २०७९ १०:४८ बुधबार