राजनीति

गमलामा धान रोप्नु गल्ती : कृषिमन्त्री

महेन्द्रनगर– कृषिमन्त्री हरिबोल गजुरेलले ‘राष्ट्रिय धान दिवस’ का अवसरमा रातो कार्पेटमाथि राखिएको गमलामा धान रोप्नु आफ्नो गल्ती भएको बताएका छन्।

मन्त्री गजुरेलले बुधबार कृषि अनुसन्धान परिषद् (नार्क) को सभाहलमा गमलामा धान रोपेका थिए । बिहीबार कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘दुई ठाउँमा धान रोप्ने तयारी गरिएको थियो । मैले असहज मानेर गमलामा धान रोपेँ । त्यो मेरो गल्ती हो ।’

अघिल्लो वर्ष धान दिवसका अवसरमा आयोजित कार्यक्रममा तत्कालीन कृषिमन्त्री हरिप्रसाद पराजुलीको सार्वजनिक बेइज्जति भएकाले यसपटक रोपाइँ कार्यक्रममा जान आफूले असहज महसुस गरेको गजुरेलले जिकिर गरे । ‘तर मैले कुनै अपराध गरेको छैन, ११ बजेको फ्लाइट थियो त्यसैले कार्यक्रममा उपस्थित हुन भ्याइन,’ उनले भने ।

बुधबार उनी कञ्चनपुरको शंकरपुर गाविसमा निर्माण गरिएको छाडा चौपाया आश्रम उद्घाटन गर्न आएका हुन् । ‘मिडियामा गमलामा धान रोपेको समाचार आउनुलाई मैले पोजेटिभ रूपमा लिएको छु,’ नागरिक दैनिकको समाचारलाई इंगित गर्दै उनले भने, ‘त्यसो गर्नु मेरो कमजोरी हो ।’

प्रकाशित: १६ असार २०७३ १५:३२ बिहीबार

गमलामा धान रोप्नु गल्ती कृषिमन्त्री