राजनीति

संघीय गठबन्धनको विवाद उत्कर्षमा

फाइल तस्बिर

काठमाडौं– आन्दोलनको नेतृत्व कसले गरेको भन्ने विषयमा विवाद बढ्दै जाँदा संघीय गठबन्धन भित्रको विवाद उत्कर्षमा पुगेको छ। आन्दोलनको नेतृत्व मधेसी मोर्चाले गरेको  वा संघीय गठबन्धनले भन्ने विवाद बढ्दै जाँदा गठबन्धनको अस्तित्व धराममा परेको छ। संघीय समाजवादी फोरम नेपाल आन्दोलनको नेतृत्व गठबन्धनले गरेको भन्दै सरकारले वार्ता पनि गठबन्धनसँगै गर्नुपर्ने पक्षमा देखिएको छ भने तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टीलगायत मधेसी मोर्चामा आबद्ध अधिकांश दल आन्दोलनको नेतृत्व मोर्चाले गरेको भन्दै सरकारले वार्ता पनि मोर्चासँगै गर्नुपर्ने अडानमा छन्।

यही विवादकाबीच सरकारले मधेसी मोर्चालाई वार्तामा आउन आग्रह गर्दै बारम्बार पत्र पठाएपनि सरकारसँग वार्ता हुन सकेको छैन।संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा मधेसी मोर्चासँग वार्ता गरेर समस्याको समाधान नहुने बताएका थिए। उनले आन्दोलनको नेतृत्व गठबन्धनले गरेको भन्दै मधेसी मोर्चासँग वार्ता गरेर समस्याको समाधान नहुने उनको तर्क थियो।

तमलोपा र सद्भावना पार्टी भने मधेसी मोर्चाले तीनवटा मधेस आन्दोलन गरेको, सोही आन्दोनका क्रममा दर्जनौं व्यक्तिको मृत्यु भइसकेको र मधेसी मोर्चाको लामो इतिहास रहेको भन्दै गठबन्धनको अस्तित्व स्वीकार्न नसकिने बताउन थालेका छन्। दुई दल गठबन्धनले राजधानीमा जारी राखेको रिले अनशनमा सहभागीता जनाएका छैनन्।

‘अब मधेसी मोर्चा संघीय गठबन्धनमा सहभागी छैन,’ तराइ मधेस लोकतान्त्रिक पार्टीका नेता सुरेश मण्डलले भने,‘कुनै दलको संगठन विस्तार गर्न र कसैलाई नेता बनाउन मधेसी मोर्चा आन्दोलनमा सहभागी हुँदैन।’

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले तत्कालीन आवश्यकता अनुसार संघीय गठबन्धन गठन गरिएको भन्दै गठबन्धन निर्माण हुँदैमा मोर्चाको अस्तित्व समाप्त नहुने बताए। ‘संघीय गठबन्धन काठमाडौं केन्द्रित आन्दोलनका लागि गठन गरिएको हो,’ महतोले भने, ‘यो तात्कालिक आवश्यकताका लागि मात्र हो।’

२९ दलीय गठबन्धनको राजधानी केन्द्रित आन्दोलनमा अपेक्षा अनुसार जनसहभागीता नभएपछि गठबन्धनभित्र विवाद बढ्न थालेको हो। मधेसी मोर्चा आबद्ध दलको राजधानीमा संगठन विस्तार नहुनु र संगठन भएका दल वा संगठनलेपनि उल्लेख्यमात्रमा आन्दोलनमा जनसहाभागिता गराउन नसक्नुले पनि विवाद बढेको नेताहरु बताउँछन्।

‘राजधानीमा आन्दोलन गर्न हामीले मधेसबाटै गाडीमा मानिस ल्याउनुपर्ने हो भने गठबन्धनको आवश्यकता नै पर्ने थिएन,’ नाम उल्लेख नगर्ने सर्तमा एक नेताले भने,‘संघीय गठबन्धनको आन्दोलन उपेन्द्र यादवको संगठन विस्तार र उनलाई नेता बनाउन भएको जस्तो भएको छ। यस्तो आन्दोलनमा मधेसी मोर्चाको सहभागीता रहँदैन।’

गठबन्धनको आन्दोलनले समस्या समाधानमा सरकारलाई दबाब सृजना गर्न नसक्ने भन्दै मोर्चामा आबद्ध दलहरुले मोर्चाको व्यानरमा मधेसमै दबाबमूलक आन्दोलन गर्ने तयारीसमेत गरेका छन्। संघीय गठबन्धन नामधारी र लेटरप्याडमा मात्र सीमित रहेको भन्दै तमलोपा र सद्भावनाका नेताहरुले सो गठबन्धनमा अधिकांश संघीय समाजवादी फोरम नेपालका भातृसंगठन मात्र रहेको टिप्पणी गरेका छन्।


मधेसी मोर्चाको  नाममा संगठन विस्तार गर्न फोरम  नेपाललाई अप्ठ्यारो परेकोले संघीय गठबन्धनमार्फत फोरम नेपालले पहाडमा संगठन विस्तार गरिरहेको तमलोपाका एक नेताले आरोप लगाए। ‘उपेन्द्रजीले मधेसलाई तिलान्जली दिनु भएको छ,’ एक नेताले भने,‘त्यसको परिणाम आगामी निर्वाचनमा देखिएला।’ संघीय समाजवादी फोरम नेपालको द्वैध चरित्रका कारण अहिलेको समस्या उत्पन्न भएको नेताहरुको तर्क छ। ‘संघीय गठबन्धन त असारमा जन्मेको भागुता हो,’ एक नेताले भने,‘जसको हिउँद लागेपछि चुरीफुरी सकिन्छ।’

 

प्रकाशित: १६ असार २०७३ ०७:१७ बिहीबार

संघीय गठबन्धनको विवाद उत्कर्षमा