राजनीति

प्रदेश १: प्रदेश सांसदको शपथ पुस ११ गते

प्रदेश १ को प्रदेशसभाका नव निर्वाचित सांसदहरूको शपथग्रहण पुस ११ गते हुने भएको छ।

प्रदेशसभा सचिवालयले मंगलबार सूचना प्रकाशित गरी नव निर्वाचित सांसदहरूको शपथग्रहण पुस ११ गते गर्ने जानकारी दिएको हो।

प्रदेशसभाका सचिव गोपाल पराजुलीले शपथग्रहणका लागि उपस्थित हुन सबै सांसदहरूलाई अनुरोध गरेका छन्। शपथग्रहण प्रदेशसभा सचिवालय प्रदेश १ विराटनगरमा साढे १ बजे हुने सचिवालयले जनाएको छ। 

शपथग्रहण कार्यक्रममा निर्वाचन आयोगबाट प्राप्त प्रदेशसभा सदस्यको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि एवं हालसालैको पासपोर्ट साइजको फोटो दुईप्रति सहित दुई घण्टा अगावै राष्ट्रिय पोसाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा उपस्थितिको लागि  अनुरोध गरिएको छ।

प्रदेशसभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको व्यहोरो आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ को उपदफा (२) तथा प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा १९ बमोजिम तीन दिन अगावै प्रदेशसभा सचिवालयमा उपलब्ध गराउन आग्रह गरिएको छ।

प्रदेशका सांसदहरूलाई प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डलले शपथग्रहण गराउने छन्। मण्डलले पनि सोही दिन साढे १२ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित: ५ पुस २०७९ १३:२१ मंगलबार