राजनीति

कांग्रेस गठबन्धनमा जोडिने प्रयासमा जसपा

जनता समाजवादी पार्टी (जसपा) नयाँ बन्ने सरकारमा सहभागी हुन नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा जोडिने प्रयास गरिरहेको छ। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअघि अन्तिम समयमा जसपाले सत्तारूढ गठबन्धनसँग अलग भई एमालेसँग चुनावी सहकार्य गरेको थियो। एमालेसँगको सहकार्यले पार्टीलाई नोक्सानी पुगेको जसपाका नेताहरूको बुझाइ छ। स्रोतले भन्यो, ‘त्यसैले अहिले फेरि गठबन्धनमै फर्किने जसपा नेताहरूको प्रयास छ।’ चुनावी परिणाम आएलगत्तै जसपाका अध्यक्ष उपेन्द्र यादवले एमालेसँग सहकार्यको अध्याय सकिएको बताएका थिए। जसपाका एक नेताले भने, ‘अध्यक्षज्यूको यस भनाइबाट जसपा नेपाली कांग्रेस–माओवादी गठबन्धनमा फर्कन चाहेको देखिएको छ।’  

पछिल्लो एक साता जसपा अध्यक्ष यादवले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग दुईपटक भेट गरिसकेका छन्। दाहालसँग भेट गरी यादव शनिबार रौतहट पुगेका थिए। उनी काठमाडौं फर्केर सरकारको विषयमा गम्भीर छलफल गर्ने जसपाकै प्रवक्ता मनीष सुमनले बताए। उनले भने, ‘सरकारमा नजाने जसपाको नीति होइन र दुईवटै गठबन्धनमा जान हामी खुला छौं।’ चुनाव सकिएसँगै एमाले र जसपाबीचको सहकार्य पनि सकिएको सुमनको भनाइ छ। ‘एमाले र हामीबीच चुनावी तालमेलको अध्याय सकिएको छ। त्यसैले अब दुईवटै गठबन्धनमा जान हामी खुला छौं,’ उनले भने। जसपा स्रोतका अनुसार सरकारमा जान जसपाका सांसद इच्छुक देखिएका छन्। ‘त्यसमा पनि प्रतिनिधिसभामा पहिलोपटक आएका सांसद यसैपटक सरकारमा जान झनै इच्छुक देखिनुभएको छ,’ जसपाका एक नेताले भने।

स्रोतका अनुसार जसपालाई कांग्रेस नेतृत्वको गठबन्धनमा ल्याउन माओवादी केन्द्रका अध्यक्ष दाहाल तयार छन् तर प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने त्यति सकारात्मक छैनन्। अन्तिम समयमा जसपाले गठबन्धन छाडेर एमालेसँग चुनावी गठबन्धन गर्न गएकोमा देउवा रुष्ट छन्। स्रोत भन्छ, ‘जसपा कांग्रेस नेतृत्वको गठबन्धनमा फर्कन चाहे पनि पार्टी अध्यक्ष यादवले एमालेसँगको सम्बन्ध कायमै राखेका छन्। प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७ र समानुपातिक तर्फ ५ गरी जसपाका १२ सांसद छन्।  

यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूले पनि वर्तमान सत्ता गठबन्धनमा आफ्नो हक लाग्ने बताउँदै आएका छन् तर पनि गठबन्धनको बैठकमा लोसपाका नेताहरूलाई बोलाउने गरिएको छैन। गठबन्धनको बैठकमा लोसपालाई बोलाउन आग्रह गर्दै लोसपाका अध्यक्ष महन्थ ठाकुरले दुईतीनपटक प्रधानमन्त्री देउवालाई भेटेका छन्। ‘हाम्रा नेताहरू सरकारमा जान तयार हुनुहुन्छ,’ लोसपाका एक नेताले भने, ‘कम्तीमा दुईवटा मन्त्रालय हाम्रो माग हो।’ लोसपा कार्यकारिणी समितिका सदस्य केशव झाले लोसपा कांग्रेस–माओवादी गठबन्धनमै रहेको बताउँदै सम्मानजनक रूपमा शक्ति बाँडफाँट हुनुपर्ने बताए। ‘हामी गठबन्धनकै एक अंग हौं। त्यसैले सिट संख्याका आधारमा नभई सम्मानजनक हिसनबले शक्ति बाँडफाँट हुनुपर्छ भन्ने हाम्रो माग हो।’ प्रतिनिधिसभामा लोसपाका चार सांसद छन्।

प्रतिनिधिसभामा ६ सिट रहेको अर्को तराई–मधेस केन्द्रित जनमत पार्टीले सरकारमा जाने सहमति भइसकेको छ। केही दिनअघि प्रधानमन्त्री देउवासँग भेट गरी जनमत पार्टीका अध्यक्ष सिके राउतले सरकारमा जाने सहमति गरेका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले घोषणापत्रमा सरकारमा नजाने नीति बनाएको थियो। तर चुनाव सकिएलगत्तै सरकारमा नजाने पार्टीको नीति नभएको राप्रपाका नेताहरूले बताउन थालेका छन्। स्रोतका अनुसार राप्रपाका अधिकांश सांसदले पनि सरकारमा जान इच्छा देखाएका छन्। राप्रपाबाट भर्खरै चुनाव जितेका दीपक बोहरा, विक्रम पाण्डे, धु्रव्रबहादुर प्रधानलगायत सांसद अहिले नै सरकारमा जानुपर्छ भन्ने लाइनमा छन्। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले संख्या नपुगेर सरकार बन्न नसक्ने स्थिति आए राप्रपाले सहयोग गर्ने बताए। ‘सरकारमा जान्नौं भनेका छैनौं तर सरकारमा जाने हाम्रो पहिलो प्राथमिकता होइन,’ श्रेष्ठले भने। प्रतिनिधिसभामा प्रत्यक्ष ७ र समानुपातिक ७ गरी राप्रपाका १४ सांसद छन्।

सिके राउत दलको नेता चयन

यसैबीच जनमत पार्टीका अध्यक्ष सिके राउत उक्त दलको संसदीय दलको नेतामा चयन भएका छन्। सोमबार बसेको जनमतको बैठकमा राउत सर्वसम्मत दलको नेता चयन भएका हुन्। दलको उपनेतामा अब्दुल खान, प्रमुख सचेतकमा अनिता साह तथा सचेतकमा गोमा लाभ चयन भएका छन्। प्रतिनिधिसभामा जनमत पार्टीका ६ जना सांसद छन्। जसमध्ये राउत प्रत्यक्षबाट र अन्य पाँच सांसद समानुपातिबाट निर्वाचित भएका हुन्।

प्रकाशित: ५ पुस २०७९ ००:५६ मंगलबार

जनता समाजवादी पार्टी