राजनीति

गण्डकीः कांग्रेस संसदीय दलको नेतामा चारजनाको दाबी

गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन नहुने भएको छ। प्रदेशको पहिलो ठूलो दल बनेको कांग्रेसमा संसदीय दलको नेता बन्न आकांक्षी धेरै भएपछि सर्वसम्मत नहुने देखिएको हो।  

हालसम्म गण्डकी कांग्रेस संसदीय दलको नेता बन्न चार जनाले दाबी गरेका छन्। संसदीय दलको नेताका लागि सुरेन्द्र पाण्डे, विन्दुकुमार थापा, भोजराज अर्याल र महेन्द्रध्वज जिसीले दाबी प्रस्तुत गरेका हुन्।

कांग्रेसको गण्डकीमा कुल २७ सांसद छन्। १८ क्षेत्रमा प्रत्यक्ष जितेको कांग्रेसले समानुपातिकमा ९ सांसद पाएर २७ पु¥याएको हो। जसमा संस्थापन पक्षका १३ सांसद छन् भने संस्थापन ईतर समूहका १४ सांसद रहेको दाबी छ।

संस्थापन पक्षका पाण्डे गोरखा–२ (२)बाट निर्वाचित सांसद हुन् भने संस्थापन ईतरका जिसी पूर्वी नवलपरासी–१ (१) बाट निर्वाचित प्रदेश सांसद हुन्। त्यस्तै संस्थापन पक्षका थापा कास्की–२ (२) तथा संस्थापन ईतरका अर्याल स्याङ्जा–१ (२) बाट निर्वाचित सांसद हुन्।

संसदीय दलको नेताका आकांक्षी मध्ये पाण्डे र थापा संस्थापन पक्ष (देउवा समूह) र अर्याल र जिसी संस्थापन ईतर (पौडेल समूह)का हुन्। दुवै समूहबाट आकांक्षी दुईदुई जना भएपछि संसदीय दलको नेता चयन प्रक्रिया जटिल बन्ने देखिएको छ। यद्दपी दुवै समूहले आ–आफ्नो समूहमा सर्वसम्मत बनाउने प्रयास जारी राखेका छन्।

प्रतिष्पर्धी धेरै देखिएपनि अन्त्यमा पाण्डे र जिसीबीच प्रतिष्पर्धा हुने कांग्रेस निकट श्रोत बताउँछ। पाण्डे देउवाका विश्वास पात्र हुन् भने जिसी पौडेलका विश्वास पात्र हुन्। देउवा पक्षबाट पाण्डे सर्वसम्मत हुने भनिएपनि थापाले दाबी छाडेका छैनन्। थापा प्रधानमन्त्री पत्नी आरजु देउवाका विश्वास पात्र हुन। निर्वाचनमा टिकट पनि उनैले दिलाएको र मुख्यमन्त्री बनाउने आश्वासन दिएको थापा निकट श्रोतको दाबी छ। यद्दपी कांग्रेसमा पाण्डे प्रभावशाली नेता मानिन्छन् भने उनलाई देउवाले मुख्यमन्त्री बनाउने आश्वासन दिएरै प्रदेश सभा सदस्यमा कन्भिन्स गरेर पठाएको श्रोत बताउँछ।

अघिल्लो पटक नै मुख्यमन्त्री दाबी गरेका थापा पछि कानून, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री बनेका थिए। तत्कालीन भौतिक पूर्वाधार मन्त्री कुमार खड्कालाई जिल्याएर केहि अघि सम्पन्न चुनावमा टिकट ल्याउन सफल थापाले यसपटक आफ्नो अन्तिम कार्यकाल भनेकाले उनी जसरी पनि मुख्यमन्त्री बन्न कस्सिएका छन्। तर संस्थापन पक्ष निकट श्रोत भने थापाले मुख्यमन्त्री दाबी गरेर पछि प्रभावशाली मन्त्री पाउने शर्तमा पाण्डेलाई सघाउने बताउँछ।

संस्थापन ईतरका जिसी पनि प्रभावशाली नेता हुन्। पौडेल समूहका उनी नेपाली कांग्रेस नवलपुरका सभापति समेत हुन्। जिसीले आफ्नो पक्षको बहुमत भएकाले आफू नै संसदीय दलको नेता बन्ने दाबी गरेका छन्। उनी भन्छन्, ‘शुक्रराज शर्मा (कांग्रेस गण्डकी प्रदेश सभापति) आउनु भएको भए अर्कै हुन्थ्यो, उहाँपछि त म नै हो संसदीय दलको नेता। किनकी मेरो पक्षमा बहुमत छ।’

तर संस्थापन पक्ष भने संस्थापन ईतरमा बहुमत नभएको दाबी गर्छ। संस्थापन निकट श्रोत भन्छ, ‘निर्वाचन नभएसम्म कसको बहुमत छ भनेर कसले भन्ने सक्छ र? भोलि प्रतिष्पर्धामा गएपछि थाहा भईहाल्छ नि कता बहुमत छ भनेर।’ उक्त श्रोतका अनुसार ईतर पक्षका सांसद चोरेर बहुमत पु¥याउने पक्षमा संस्थापन पक्ष छ।

प्रकाशित: ३ पुस २०७९ ०९:५६ आइतबार

कांग्रेस गण्डकी प्रदेश संसदीय दल