राजनीति

धर्म परिवर्तन गराउनेलाई कार्वाही: उपप्रधानमन्त्री थापा

सिद्धराज राई
धनकुटा–राप्रपा नेपालका अध्यक्ष एवं नेपाल सरकारका उपप्रधान, परराष्ट्र र स्थानीय विकास मन्त्री कमल थापाले धर्म परिवर्तन गराउन सक्रिय समुहलाई कार्वाही गर्ने बताएका छन्। आइतबार धनकुटामा पत्रकारसँग कुरा गर्दै मन्त्री थापाले नेपालीको पहिचान गुम्ने गरी लोभ लालाच देखाएर धर्म परिवर्तन गराउने समुहलाई संविधान अनुसार कार्वाही हुने बताए । अन्य धर्मलम्बीलाई कार्वाही गर्ने भनिरहेका मन्त्री थापाले हिन्दु धर्मको प्रचार गर्ने कार्य भने संविधानले दिएको अधिकार भएको दाबी गरे।
संविधानले सनातन धर्मको प्रचारप्रचार गर्न पाउने अधिकार दिएकाले नेपाली पहिचान को संरक्षण गर्न हिन्दुत्व जागरण अभियान सञ्चालन गर्नुपरेको बताए। पत्रकारले पटकपटक धर्मकै विषयमा प्रश्न सोधेपछि आक्रोषित भएका मन्त्री थापाले ठूला राजनीतिक दलका नेताले विदेशीको नुनको सोझो गर्न धर्म निरपेक्षतामा सहमति जनाएको अरोप समेत लगाए ।
कसैले विरोध गर्दैमा प्रचार कार्य नरोकिने र उनीहरु आफैं हिन्दु धर्मको प्रचारक हुने उनले बताए ।  
आइतबार विहान जिल्ला विकास समिति, धनकुटा नगरपालिका, पाख्रीबास नगरपालिकाको वित्तीय र भौतिक प्रगति सुनेका मन्त्री थापाले गाविसमा गएको रकमर सामाजिक सुरक्षा रकमको दुरुप्रयोग रोक्नु पर्ने बताए। सरकारको मुख्य प्राथमिकतामा परेका योजना र गाउँमा गएको बजेटलाई सही कार्यन्वयनको लागि जिविस र विषयगत कार्यालयले नियमित अनुगमन गर्नु पर्ने बताए ।
जिविस, नगरपालिका र गाविसमा रहेको बेरुजु फर्छौट अनिवार्य गर्न र खाली रहेको गाविसमा सचिवमा पदपुर्ति गर्न निर्देशन दिए। सरकारले यो बर्ष १७१ वटा तुईन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गर्ने, सडक सोलर बत्ती निर्माण गर्ने र स्थानीय तहको निर्वाचन गर्ने अभियानमा रहेको मन्त्री थापाले बताए ।

 

प्रकाशित: १२ असार २०७३ ०६:३६ आइतबार

धर्म परिवर्तन गराउनेलाई कार्वाही उपप्रधानमन्त्री थापा