राजनीति

कांग्रेसको कार्यसम्पादन समितिको बैठक भोलि बस्दै

नेपाली कांग्रेसको भोलि आइतबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार  बैठक भोलि दिउँसो ३ बजे सानेपास्थित पार्टी कार्यालयमा बस्ने छ।  

चुनावपछि बस्न लागेको यो दोस्रो कार्यसम्पादन समितिको बैठक हो। पहिलो बैठकमा समानुपातिक उम्मेदवारको अन्तिम छनौटको विषयमा भएको थियो भने भोलि बस्ने बैठकमा संसदीय दलको नेता चयन र नयाँ सरकारका विषयमा छलफल हुने नेताहरूले बताएका छन्। संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापालगायतले दाबी गरेका छन्।  

कार्यसम्पादन समितिको बैठक अघि आज प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नवनिर्वाचित सांसदहरूलाई  प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर छलफल गरेका थिए। बधाई तथा शुभकामनाका  दिन बोलाइएको भने पनि आगामी सरकार तथा संसदीय दलको नेताको चुनावका बारेमा छलफल भएको हुन सक्ने नेपाली काँग्रेस निकट कार्यकर्ताको बुझाइछ।  

गएको  मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कूल ८९ सिट जितेर सङ्घीय संसद्को सबैभन्दा ठूलो दल बनेको छ।सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा पाँच दलीय सत्ता गठबन्धनको नयाँ सरकार गठनका लागि कसरत गरिरहेको छ।

प्रकाशित: २ पुस २०७९ १३:२५ शनिबार

कांग्रेसको भोलि कार्यसम्पादन समितिको बैठक