राजनीति

माओवादी केन्द्रसँगको एकता खारेज

काठमाडौं– अघिल्लो महिनासम्म एकीकृत माओवादीसँग एकता गर्ने÷नगर्ने अन्योलमा रहेको मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले अन्ततः उक्त दलसँग एकता नगर्ने घोषणा गरेको छ।

बहुमत केन्द्रीय सदस्य एकीकृत माओवादीमा पसेपछि आक्रोशित भएको क्रान्तिकारी माओवादीले १० वटा कम्युनिस्ट घटक मिलेर बनेको माओवादी केन्द्रलाई दक्षिणपन्थी नवसंशोधनवादको आरोप लगाउँदै एकता खारेज गरिएको सार्वजनिक गरेको हो । एक सयभन्दा बढी केन्द्रीय सदस्य माओवादी केन्द्रमा पसेपछि बाँकी ७५ केन्द्रीय सदस्यसहित देशभरिका कार्यकर्ता बोलाएर राजधानीमा तीन दिने राष्ट्रिय भेला सकेपछि बिहीबार क्रान्तिकारी माओवादी अध्यक्ष मोहन वैद्यले पश्चगामीतिर गइरहेको पार्टीसँगको एकता खारेज गरिएको बताए ।
पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष वैद्यले सच्चा कम्युनिस्टसँग भने एकता गर्ने सम्भावना कायमै रहेको बताए । पार्टी आगामी दिनमा फौजी कार्यदिशातर्फ उन्मुख हुने उनको भनाइ छ । नेत्रविक्रम चन्दको माओवादीसँग पनि एकता नहुने उनले प्रष्ट पारे । ‘धेरैले नेत्रविक्रमसँग एकता हुने आंशका गर्छन्,’ वैद्यले भने, ‘उहाँसँग फौजी कार्यदिशा नै छैन ।’

क्रान्तिकारी माओवादी फौजी कार्यदिशातिर उन्मुख भए पनि फौजी आन्दोलन कहिले सुरु गर्ने भन्नेबारे अहिले केही भन्न नसकिने उनको भनाइ छ । ‘जनयुद्ध सुरु गर्दा पनि फौजी कार्यदिशाबारे धेरै छलफल भएको हो,’ वैद्यले भने, ‘अहिले पनि फौजी कार्यदिशाबारे छलफल भइरहेको छ । परिस्थिति ठीक भए कार्यान्वयनमा जान्छौं ।’

 

प्रकाशित: १० असार २०७३ ०२:१६ शुक्रबार

माओवादी केन्द्रसँगको एकता खारेज