राजनीति

कांग्रेस वरिष्ठ नेता पौडेललाई जापानको उच्च सम्मान

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले उच्च राजकीय सम्मान प्रदान गर्न लागेको छ। सन् २०२० अप्रिल २९ मा घोषणा भएको उक्त सम्मान उनलाई आज यहाँस्थित जापानी दूतावासले उनकै निवासमा विशेष कार्यक्रम गरी प्रदान गर्न लागेको जनाएको छ।

जापानी सम्राट मेइजिले सुरु गरेको राजकीय सम्मान ‘अर्डर अफ द राईजिङ सन’ आज अपराह्न ३ बजे वरिष्ठ नेता पौडेलले ग्रहण गर्दै छन्। विश्वका विशिष्ट व्यक्तिहरूलाई वर्षको दुई पटक प्रदान गरिने यस सम्मान घोषणामा नेता पौडेल र माइक्रोसफ्टका संस्थापक विल गेट्स थिए।

वरिष्ठ नेता पौडेललाई विशेषतः पूर्व सभामुखको हैसियतमा दुई देशका सांसद् बिचको सम्पर्क सक्रिय बनाउन र त्यसपछि नेपाल-जापान सम्बन्ध सृदृढमा गरेको योगदानका लागि कदर गरिएको हो।  

वरिष्ठ नेता पौडेलले आफू सभामुख रहँदा सन् १९९९ मा नेपाल-जापान मैत्री संसदीय लिग स्थापना गर्नुका साथै त्यसको पहिलो अध्यक्ष समेत रहेका थिए।

उनी सन् २०१७ सम्म लिगको नेतृत्वमा रहनुका साथै द्विपक्षीय सम्बन्धको प्रवर्द्धनमा पनि सक्रिय रूपमा संलग्न थिए।

जापान र अन्य देश बिचको राजनीति र कूटनीति, अनुसन्धान र शिक्षा, चिकित्सा तथा समाज कल्याण, अर्थतन्त्र र उद्योग, संस्कृति र खेलकुद जस्ता क्षेत्रमा सम्बन्ध प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने विशिष्ट व्यक्तित्वलाई पनि यो सम्मान प्रदान गरिन्छ। रासस

प्रकाशित: २९ मंसिर २०७९ ०५:४२ बिहीबार

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल