राजनीति

लुम्बिनी प्रदेश: स्थायी राजधानीमा मुख्यमन्त्री कार्यालय उद्घाटन

लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय उद्घाटन गरिएको छ। प्रदेश प्रमुख अमिक शेरचनले कार्यालयको उद्घाटन गरेका हुन्।

मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय उद्घाटन गर्दै प्रदेश प्रमुख शेरचनले आजदेखि स्थायी राजधानी कार्यान्वयन भएको बताए। ‘आज मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय उद्घाटन भएको छ,’ उनले भने ‘यससंगै स्थायी राजधानी कार्यान्वयन गर्ने महत्वपूर्ण काम पनि पुरा भएको छ।’ प्रदेशसभाको दुई तिहाई बहुमतले निर्णय गरेको स्थायी राजधानी घोषणालाई कार्यान्वयन गर्न वर्तमान सरकारले खेलेको भूमिकाको उच्च प्रशंशा गर्दै शेरचनले अब राजधानी अपायक थलोबाट पायक थलोमा स्थापित भएको बताए।

‘अब प्रदेशका कसैले पनि राजधानी अपायक थलोमा छ भनेर भन्ने अवस्थाको अन्त्य भएको छ,’ उनले भने ‘प्रदेशका १२ वटै जिल्लाको पायक थलोमा राजधानी कार्यान्वयन भएको छ।’ यसैगरि उनले स्थायी थलोमा कार्यान्वयन भएको राजधानीलाई व्यवस्थित बनाउने दायित्व देउखुरीका बासिन्दाहरुको अहम रहने भन्दै सबैले यसको उचित व्यवस्थापनका लागि साथ दिनु पर्ने बताए।

स्थायी राजधानीमै प्रदेशसभा भवन समेत निर्माण भैसकेको भन्दै उनले नव निर्वाचित सांसदहरुको सपथ र प्रदेशसभा समेत यहिँ नै सञ्चालन हुने समेत बताए।  

प्रकाशित: २८ मंसिर २०७९ ०९:५९ बुधबार

लुम्बिनी प्रदेश