राजनीति

सर्लाहीमा कुटपिटबाट एक वृद्धाको मृत्यु

जग्गा सम्बन्धी विवादमा कुटपिट हुँदा सर्लाहीमा एक वृद्धको मृत्यु भएको छ। सर्लाहीको चक्रघट्टा गाउँपालिका २, भेल्हीमा जग्गाको विषयमा विवादमा कुटपिट हुँदा ७० वर्षीया सागर देवीको मृत्यु भएको हो।

कुटपिटमा संलग्न सागर देवीकै देवर ६५ वर्षीय पुकार रायलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पुकारका छोरा जितु भन्ने जितेन्द्र राय र बुहारी अनितादेवी राय फरार रहेको र फरार अभियुक्तको खोजी कार्य भइरहेको सर्लाही प्रहरीले जनाएको छ।

पुकार, छोरा जितेन्द्र र बुहारी अनिता मिलेर सागर देवीमाथि कुटपिट गरेको स्थानीयले बताएका छन्। घटना लगत्तै प्रहरीले पुकारलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मलङ्गवा पुर्‍याएको छ।

दाजु र भाइबीच जग्गाको विषयमा पुरानो विवाद रहेको र सोही विषयमा समय समयमा दाजु भाइबिच झगडा हुने गरेको थियो। पुरानो जमिनकै विषयमा भएको विवादमा मारपिट हुँदा वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक प्रवीण पोखरेलले जानकारी गराएका छन्।  

प्रकाशित: २७ मंसिर २०७९ १३:११ मंगलबार

वृद्धको मृत्यु