मंसिर ४ को आम निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै प्रदेशसभा सदस्यहरूको दोस्रो कार्यकाल सुरु हुन लागेको छ।
बागमती प्रदेशमा प्रदेशसभाको आउँदो अधिवेशनको बैठकका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइएको छ। आउँदो अधिवेशनको तयारी पूरा भएको जानकारी दिइएको भोलिपल्टै राष्ट्रिय अपांग महासंघ बागमती प्रदेशले प्रदेशसभा अपांगमैत्री नभएको गुनासो गर्दै अपांगमैत्री बनाउन माग गरेको छ।
अपांग महासंघले मंगलबार प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्कालाई ध्यानाकर्षण पत्र बुझाउँदै प्रदेशसभालाई अपांगमैत्री बनाउन माग गरेको हो। महासंघ अध्यक्ष अश्विन लम्सालले बागमती प्रदेशसभामा शारीरिक अपांगता भएका व्यक्ति समेत निर्वाचित भएको जानकारी दिँदै अपांगलाई सहज हुने अवस्था निर्माण गर्न माग गरे।
ह्विलचियर प्रयोगकर्तालाई समेत सहज हुने गरी प्रदेशसभा निर्माण हुनुपर्ने उनको माग थियो। बागमती प्रदेशसभा सदस्यमा समानुपातिक तर्फबाट स्पाइनल कर्ड इन्जुरी भएर ह्विलचियर प्रयोग गर्दै आएका लक्ष्मी घिमिरे निर्वाचित भएकोले उनलाई सहज हुने अवस्था निर्माण गर्न माग गरेका हुन्। घिमिरे रामेछाप जिल्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट समानुपातिकतर्फ प्रदेश सभा सदस्यमा निर्वाचित भएकी हुन्।
अपांगमैत्री भौतिक संरचना निर्माण नहुँदा अपांगता भएकाहरु अझै समस्या झेल्न बाध्य रहेको महासंघ प्रदेश अध्यक्ष लम्सालको गुनासो छ। प्रदेश सदस्यलाई सम्मानजनक, मर्यादित र स्वतन्त्रतापूर्वक संसद् सचिवालयसम्म आवतजावत गर्ने वातावरण मिलाउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाइएको हो।
प्रदेशसभा सचिव खड्काले नयाँ बन्ने प्रदेशसभा भवनको निर्माण कार्य चलिरहेको जानकारी दिँदै उक्त भवनलाई अपांगमैत्री बनाउने प्रतिबद्धता जनाए। यसअघि प्रदेशसभा बैठक चल्दै आएको तत्कालीन शिक्षा निर्देशनालयको भवनबाटै आउँदो बैठक पनि सञ्चालन हुने भएको छ। यस भवनलाई समेत अपांगमैत्री बनाउने खड्काको प्रतिबद्धता थियो। बैठकका लागि पुरानो भवन मर्मत तथा रंगरोगन लगायतको काम गरिएको थियो।
प्रकाशित: २७ मंसिर २०७९ १२:२३ मंगलबार