राजनीति

अफगानिस्तान अात्मघाती बम विस्फोटमा १४ नेपालीको मृत्यु, ५ घाइते (अपडेट)

अात्मघाती हमलामा परेको मिनी बस। तस्विरः रोयटर्स

काठमाडौं—अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहानै भएको आत्मघाती बम विस्फोटमा परी १४ नेपालीको मृत्यु भएको छ। अफगानिस्तानको गृह मन्त्रालयले १४ नेपाली मारिएको उल्लेख गर्दै बिहान ५:४० बजे भएको उक्त अात्माघाती हमलामा थप  ५ नेपाली घाइते भएको पुष्टि गरेको छ।

'अात्मघाती हमलाकारीले विदेशी कम्पनीको कर्मचारी अाेसार्ने सानो बसलाई लक्ष्यित गर्दै काबुलको ९ पिडी सिटी, काबुल सहरमा बिहान ५:४० बजे अात्मघाती अाक्रमण गरेका छन्', अफगानी गृहमन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, 'घटनामा १४ विदेशी (नेपाली) मारिएका छन्। पाँच नेपाली र ४ अफगानी गरी ९ जना घाइते भएका छन्।'

मृतक नेपालीप्रति अफगानिस्तानको गृहमन्त्रालयले गहिरो समवेदना प्रकट गरेको छ। मानवीयताविरुद्ध भएको सो घटनाको भत्सर्ना गर्दै अफगान सरकारले सो घटना जघन्य अपराध भएको उल्लेख गरेको छ।

यसअघि काबुल प्रहरी प्रमुख अब्दुल रहमान रहमीले घटनामा मृत्यु हुनेहरु नेपाली र अफगानी रहेको बताएका थिए। गृह मन्त्रालयका प्रवक्ताले ट्विट गर्दै १४ को मृत्यु भएको पुष्टि गरेका थिए। स्थानीय सञ्चारमाध्यमहरुले सो घटनामा २२ को मृत्यु भएको जनाए पनि सो संख्या आधिकारिक रुपमा पुष्टि भइसकेको छैन।

बिहान ५ बजे सुरक्षा गार्ड चढेको बस लक्ष्यित गरी काबुलको पुल ए चार्खिल क्षेत्रमा सो आत्मघाती बम विस्फोट भएको थियो।

अफगानिस्तान अात्मघाती बम विस्फोटमा १४ नेपालीको मृत्यु घाइते अपडेट