राजनीति

बाजुराले पायो थप दुई सांसद, शाही र दानी

बाजुराले थप दुई जना सांसद प्राप्त गरेको छ। प्रत्यक्ष तर्फबाट निर्वाचित बाहेक समानुपातिक कोटाबाट बाजुराले थप दुई जना सांसद पाएको हो। प्रतिनिधि सभा तर्फको समानुपातिक सूचीबाट दयाल बहादुर शाही र प्रदेश सभा समानुपातिक सूचीबाट जुना दानी सांसद बनेका छन्।  

प्रतिनिधि सभा सांसद बनेका शाही नेकपा एमाले केन्द्रीय कमिटी सदस्य हुन्। भने प्रदेश सभा सदस्य दानी नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि हुन्। दुबै जनाले पार्टी राजनीतिमा लामो संघर्ष गरेका छन्।  

लेख रचना र विचार बहस मार्फत नेकपा एमालेलाई शाहीले ठुलो योगदान पुर्याएका छन्। भने दानीले सामाजिक रुपान्तरणको आन्दोलन मार्फत बाजुराली महिलाको मुक्ति र परिर्वतनका लागि अमूल्य योगदान गरेकी हुन्।

थप दुई जना सांसद थपिएसँगै बाजुरामा सांसदको संख्या पाँच पुगेको छ। प्रतिनिधि सभा तर्फ प्रत्यक्ष तर्फ नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डे र समानुपातिक तर्फ नेकपा एमालेका केन्द्रीय सदस्य दयालबहादुर शाही सांसद बनेका छन्। दुबै जना भेगिय क्षेत्रका हिसाबमा कुण्डा क्षेत्रका हुन्।

यस्तै प्रदेश सभामा नेकपा एकीकृत समाजवादीबाट नरेश कुमार शाही र नेपाली काँग्रेसबाट पदमबहादुर शाही प्रत्यक्ष तर्फका सांसद हुन्। भने जुना दानी काँग्रेसकै कोटाबाट समानुपातिक सांसद बनेकी छन्। बाजुरामा माओवादी बाहेक अन्य सक्रिय तीन वटै दलले संसदमा प्रतिनिधित्वको अवसर पाएका छन्।

नेकपा एमालेले लोकतान्त्रिक वाम गठबन्धनसँग प्रत्यक्षमा चुनाव हारेपनि समानुपातिक कोटाबाट प्रतिनिधि सभामा नै सांसद पाएको छ। माओवादीले भने यो पटक त्यो अवसर गुमाएको छ। प्रदेश सभा समानुपातिक सूचीमा कमल कुमारी शाहको नाम भएपनि सांसदको सूचीमा अटाउन सक्नु भएन्।  

यस्तै नेकपा एमालेका काशीबहादुर विकको नाम पनि प्रदेश सभा समानुपातिक तर्फको सूचीमा थियो। दलित पुरुष तर्फको दुई नम्बरमा नाम उल्लेख गरिएको भएपनि बन्द सूचीमा पहिलो नम्बरमा नाम राखिएका कञ्चनपुरका हिरा सार्की सिफारिसमा परेका छन्।

बाजुराले २०७० पछि ४ देखि ५ जना सांसद पाउँदै आएको छ। २०७० मा प्रत्यक्ष तर्फ नेकपा एमालेका कर्णबहादुर थापा, समानुपातिक तर्फ एमालेकै बसुन्धरा रोकाया र पेम्बा गुरुङ भोटे, काँग्रेसका बद्री पाण्डे, माओवादीबाट कर्णबहादुर विक केशव सांसद बनेका थिए।  

यस्तै २०७४ मा प्रत्यक्ष तर्फ प्रतिनिधि सभामा नेकपा एमालेका लालबहादुर थापा, प्रदेश तर्फ एमालेका बलादेव रेग्मी र प्रकाश शाह, त्यस्तै समानुपातिक राष्ट्रिय सभामा बद्री पाण्डे सांसद बनेका थिए। यो पटक पनि प्रतिनिधि सभामा बद्री पाण्डे, प्रदेश सभामा नरेश शाही, पदम बहादुर शाही र समानुपातिक तर्फ दयाल बहादुर शाही र जुना दानी सांसद भएका छन्।  

प्रकाशित: २४ मंसिर २०७९ १३:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App